चर्मरोग सम्बन्धी अभिमुखिकरण
पाल्पा, असार १० । कुष्ठरोग पत्ता लगाउन चर्मरोग शिविर सञ्चालनका लागि पूर्वतयारी अभिमुखिकरण कार्यक्रम माथागढी गाउँपालिकाको रुप्सेमा भएको छ । जिल्लामा कुष्ठ रोगीहरुको संख्या अत्याधिक रहेकाले गाउँपालिका भित्र यस्ता खालका रोगहरु पहिचान गरी समस्या समाधान गर्न गाउँपालिकाले महिला स्वयंसेवीकाहरुलाई अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गरेको हो । गाउँपालिकाले रुप्से, कसेनी र चिदिपानीका २७ जना महिला स्वयंसेवीकाहरुलाई चर्मरोग सम्बन्धी शिविर सञ्चालन गर्न अभिमुखिकरण कार्यक्रम गरेको छ ।
महिला स्वयंसेवीकाहरुले वडा वडामा गएर कुष्ठरोग लागेका व्यक्तिहरुको पहिचान गर्ने गापाकी उपाध्यक्ष निर्मला भट्टराईले जानकारी दिइन् । उनका अनुसार कतिपय कुष्ठरोग लागेका व्यक्तिहरुले लाजले लुकाएर राख्ने भएकाले त्यस्ता व्यक्तिहरुका रोगलाई बाहिर ल्याउनका लागि महिला स्वयंसेविकाहरुको महत्वपूर्ण भूमिका रहने छ ।
अभिमुखिकरण कार्यक्रममा क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपाने, रुप्से स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद अर्यालले कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले महिला स्वयंसेवीकाहरुलाई कुष्ठरोगीहरु माझ खुलेरै कुरा राख्न आग्रह गरे । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईको अध्यक्षता, कार्यक्रमको सञ्चालन गापाका स्वास्थ्य संयोजक यम बहादुर चिदिले गरेका थिए ।