देउवा–पौडेल मिले, सिंह र सिटौलालाई निले !

काठमाडौ, असार १० । कांग्रेस जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच किचलो अन्त्य भएको छ । हेटौडामा यसै साता सम्पन्न जिल्ला सभापतिहरुको भेलामा सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो कारणले पार्टीले हारेको स्वीकार गरेपछि दुई पक्षबीचको द्वन्द्व अन्त्य भएको हो ।
पौडेल पक्षले पहिल्यैदेखि सभापतिले हार स्वीकार गर्नुपर्ने बताउँदै आएको थियो । तर देउवा पक्षले भने समानुपातिमा सम्मानजक स्थान आएको कारण पार्टीले हारेको नभई केही नेता हार्नुमा पार्टीको दोष नरहेको दाबी गर्दै आएका थियो । त्यही कारण दुई पक्षबीच द्वन्द्व र गुटबन्दी झन चर्किदै गएको थियो ।
भेलाले सभापति देउवाले आफ्नो कारण चुनाव हारेको उल्लेख गरे, त्यसपछि वरिष्ठ नेता पौडेलले पार्टिमा गुट र विवाद नभएको घोषणा गरे । सभापति देउवा र पौडेलको त्यस्तो अभिव्यक्तिसँगै हलमा ताली गुन्जियो । पहिल्यैदेखि शिर्ष नेताहरु मिल्नुपर्छ र गुटबन्दी अन्त्य हुनुपर्छ भन्ने जिल्ला सभापति तथा कार्यकर्ताहरु हर्षित मात्रै भएनन् । उनीहरुले हर्षका आँशु नै झारे । हलमा देउवा र पौडेल पक्षले हर्षको आँशु झार्दा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौटा र उनका पक्षधरले भने दुःखको आँशु चुहाएको स्रोत बताउँछ ।
स्रोतका अनुसार पार्टीभित्र देउवा र पौडेल पक्ष मिल्दा सिंह र सिटौलाले भने आफ्नो अस्तित्व निलिएको महशुस गरेका छन् । किन कि सिह र सिटौलाले विगतमा पौडेललाई देउवा विरुद्ध उक्साउँदै आएका थिए । दुबै पक्ष मिलेपछि अब उनीहरुको उक्सावट बेर्थ भएको छ । सभापति भेलाले २१ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ । वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै आएका घोषणापत्रको आशय छ ।
कम्युनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया, मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद–उन्मूख रहेको हेटौडा घोषणापत्रमा उल्लेख छ ।
पत्रमा नेपाली कांग्रेसले जन्मकालदेखिनै नेपाली जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै जीवन उत्सर्ग गर्नुहुने महान योद्धाहरू एवं आदरणीय नेताहरु वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुप्रति गौरव गरिएको छ ।
पत्रमा पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले दोश्रो जनआन्दोलन ०६२÷०६३, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माण र संविधानसभाको निर्वाचन गर्न सफल नेतृत्व प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक तथ्यलाई स्मरण गर्दै आदरणीय नेता गिरिजा प्रसाद कोइरालालाई सम्मान पूर्वक स्मरण गराइएको छ ।