इसाई धर्म प्रचारकको ज्यादति
मरेकोलाई बचाउँछौ’ भन्दै शव उत्खनन्
काठमाडौ । संघीय गणतन्त्रसँगै नेपाल धर्म निरपेक्ष मुलुक बनाइएपछि सबै धर्मावलम्बीहरु समान भएका छन् । सबैलाई आ–आफ्ना धार्मिक गतिविधि संचालन गर्ने स्वतन्त्रता छ । धार्मिक स्वतन्त्रता दिइए पनि संविधानले धर्म परिवर्तन गर्न वा गराउन भने बन्देज गरेको छ । धर्म परिवर्तन गर्ने र गराउनेलाई कडा कारवाही हुने कानुनी प्रावधान छ ।
संविधान र कानुनमा धर्म परिवर्तन गराउन नपाइने व्यवस्था भए पनि ईसाई धर्मावलम्बीहरु भने मुलुकको विभिन्न भागमा धर्म परिवर्तन गराउन निरन्तर लागिपरेका छन् । ईसाईहरुले धर्म परिवर्तन गराउने खालका विभिन्न अभियान नै संचालन गर्दै आएका छन् । उनीहरुले बिशेष गरी गरिब, विपन्न र दलित समुदायलाई लक्षित गरी त्यस्तो अभियान चलाइरहेका छन् । त्यसमा विभिन्न तहका ईसाई धर्म प्रचारकहरु खटिएका छन् । कतिपय ठाउँमा स्थानीय व्यक्तिलाई प्रचारक बनाइएको छ ।
ईसाई धर्म प्रचारकहरुले धर्म परिवर्तन गराउनका लागि अन्य धर्मावलम्बीहरुलाई विभिन्न खालको प्रलोभन देखाउने गरेका छन् । शिक्षा, स्वास्थ्य लगायतका प्रोजेक्टबाट प्रभावित पार्ने कार्यक्रम बैग्लै छ । तर स्थानीय तह अर्थात तल्लो तहसम्म पनि विभिन्न प्रपञ्च र प्रोपोगण्डा फैलाउने गरिएको छ । उनीहरुले बिरामीलाई निको पार्ने बहानाका प्रोपोगण्डा पहिल्यै देखि चलाइरहेका छन् । हुँदा हुँदा त अब मरेका व्यक्तिलाई समेत पुनः बचाउन सकिने भन्ने खालका प्रोपोगण्डा समेत चलाउन थालेका छन् । स्याङ्जामा यसै साता त्यस्तै भएको छ । ईसाई धर्म प्रचारकले ‘मरेको मान्छेलाई जीवित बनाउँछु भनेपछि बच्चाको शव गाडेको २ दिनपछि निकाल्न लगाएका छन् । हरिनाश गाउँपालिकामा दाहसंकार गरिसकेको बच्चाको शव खाडलबाट निकालिएको हो ।
वडा नम्बर ७ की रीता बि.क को ५ महिनाको बच्चा टाइफाइड र निमोनियाले असार १० गते मृत्यु भएको थियो । निधनपछि परम्परा अनुसार बच्चाको मृत्यु संस्कार गरिएको थियो ।
बच्चाको शव खाडलमा पुरेको २ दिनपछि इसाई धर्मप्रचारक गंगा थापा, सचिना परियार र कृष्णमाया थापाले बच्चालाई बचाउन सकिने भनेपछि खाडलबाट निकालिएको स्थानीयले बताएका छन् । घटनापछि तीनै जना धर्म प्रचारकलाई प्रहरीले पक्राउ गरेको छ ।