माथागढीका कृषकलाई हाते ट्याक्टर वितरण

रामचन्द्र रायमाझी

पाल्पा । माथागढी गाउँपालिकाले गाउँपालिका भित्र रहेका २९ वटा कृषक समूहलाई ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई एक कार्यक्रमका विच हाते ट्याक्टर वितरण गरेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले जानकारी दिए ।
ट्याटर वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले कृषि उत्पादनमा वृद्धि गर्नका लागि कृषकहरुलाई छिटो छरितो र सहज हुने भएकाले हाते ट्याक्टर वितरण गरिएको बताएका छन् । अध्यक्ष थापाले भने गाउँपालिका भित्र रहेका कृषकहरुलाई व्यवसायिक कृषिमा लाग्न प्रेरित गर्नका लागि कृषि सामाग्रीले टेवा पुग्ने बताए ।
गाउँपालिकालाई आर्थिक समृद्धि बनाउनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रमहरु ल्याउन लागेको अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले परम्परागत कृषि छाडेर व्यवसायिक कृषिमा लाग्न कृषकहरुलाई आग्रह गरिन् । उनले व्यवसायिक र वैज्ञानिक तरिकाले कृषि गर्न सके आत्मनिर्भर बन्न सक्ने बताईन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार नेपालीले गाउँपालिकालाई कृषि पकेटका रुपमा विकास गर्न लागेकाले कृषकहरु व्यवसायिक ढंगले लाग्नु पर्नेमा जोड दिए ।
प्रमूख प्रशासकिय अधिकृत नेपालीले कृषकहरुलाई आवश्यक कृषि औजारहरु गाउँपालिकाले अनुदानमा वितरण गर्ने बताए । कार्यक्रममा कृषकहरुले हाते ट्याक्टर पाएपछि खुशी हुँदै आफुहरु अब व्यवसायिक कृषि तर्फ लाग्ने बताएका छन् । उनीहरुले गाउँपालिकाले आफुहरुका लागि आवश्यक कृषि सामाग्रीहरु उपलब्ध गराउँदै आएकाले त्यसको सदुपयोग गर्ने समेत प्रतिवद्धता जनाए ।