युरिया मलको भाउ घट्यो

प्रेम सुनार

गुल्मी । गुल्मीका गाउँमा भन्दा सदरमुकाममा युरिया मल महँङ्गो भएको पाइए पछि केहि हप्ता अघि यस रेसुङ्गा टुडेमा ‘युरिया मलः गाउँमा भन्दा शहरमा महगो ?’ शिर्षकमा समाचार प्रकाशित भए लगत्तै सदरमुकाममा युरिया मलको भाउ घटाईएको छ ।
सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौर स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाले प्रति किलो २० रुपैयाँका दरले युरिया मल विक्री गरेको छ । तर यता सदरमुकाममा रहेको अमरकल्याण महिला विकास बहुद्देश्यीय सहकारी संस्थाको सुपथ पसलमा भने प्रति किलो २१ का दरले बेचिदै आएको थियो ।
उक्त समाचार आए लगत्तै आफुले सदरमुकाम तम्घासको उक्त सहकारी सुपथ पसललाई प्रति किलोमा १ रुपैयाँ घटाउन लगाई २० रुपैया किलो बनाईएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी दिए ।
मल विक्रि वितरणमा असमानता देखिएको छ नि ? भन्ने प्रश्नमा उनले अन्यत्र पनि सहुलियत दर निर्धारणका लागि आफुले सवैलाई भनि सकेको बताए । अमर कल्याण सहकारी संस्थाकी प्रवन्धक अञ्जु पन्थीले उक्त समाचार आएपछि नैतिक संकट जस्तो देखिएर आफुहरुले घटाएको बताईन् । उनका अनुसार गत एक हप्ताको दौरानमा १२ टन युरिया मल विक्रि भई रहेको छ ।
पन्थीले आफुहरुको सहकारीबाट डिपीए मल ५१ रुपैयाँ किलो, पोटाँस ३६ रुपैयाँ र जैविक मल १७ रुपैयाँ किलो विक्रि वितरण गरेको जानकारी दिईन् । उक्त समाचार आए लगत्तै ग्रामिण भेग सम्म युरिया मलको भाउ घटाईएको छ ।