बाढी–पहिरोको कहर, यस्तो छ गृहको ठहर
काठमाडौं, असार ३१ । यो साता मुलुकभर भारी वर्षा भइरह्यो । मुसलधारे वर्षाले पहाडका अधिकाँश ठाउँमा पहिरो गयो, तराई जलमग्न भयो । लगातारको वर्षाले काठमाडांै उपत्यका समेत प्रभावित भयो । बाढी पहिरोमा २२ जनाले जीवन गुमाए । पहिरोले विभिन्न ठाउँको सडक अवरुद्ध भएर सवारी साधन रोकिँदा यात्रुले सास्ती व्यहोर्नु पर्यो । बाढी र पहिरोमा परेकाहरुको उद्धार गर्न समेत हम्मेहम्मे परेको थियो । मौसम अझै पूर्ण रुपमा सफा भएको छैन । मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने क्रम जारी छ । अझै धनजनको क्षति हुने संभावना छ । मुलुकमा यस पटक नयाँ वर्षको शुरुवात अर्थात् बैशाखदेखि नै पानी परिरहेको छ ।
गृह मन्त्रालयले बैशाखदेखि अहिलेसम्म, बाढी पहिरो र चट्याङ लगायतका प्रकोपका कारण दुई सय ६४ जनाको मृत्यु भएको जनाएको छ । प्रकोपमा ५१ जना बेपत्ता छन् । बैशाखदेखि अहिलेसम्म नौ सय ६८ वटा विपद्का घटना भएका छन् ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी पहिरो, चट्याङ, आगलागी, लेक लाग्ने, हावाहुरी जस्ता प्राकृतिक विपतका कारण हालसम्म यति ठूलो क्षति भएको छ । ७५ दिनको अवधिमा प्राकृतिक विपत्तिबाट २ हजार १ सय १७ घाइते भए, २ हजार ५ सय १६ घर प्रभावित भएका छन् । यो अवधिमा भएको विपत्तिबाट ६ सय ५६ घरमा पूर्ण क्षति भएको छ भने ६ सय ११ घरमा आंशिक क्षति भएको छ ।
यस्तै १ सय ५९ गोठमा क्षति पुगेको छ । १ हजार २ सय ६५ चौपाया मरेका छन । प्रकोपबाट मुलुकमा करिब ६५ करोड ६ लाख १५ हजार ६ सय ८२ रुपैयाँ बराबरको क्षति भएको गृहको आंकलन छ ।
पहिरोका ५३ वटा घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता, १६ घाइते भएका छन् । १९ घरको पूर्ण क्षति भएको छ भने ७ घरको आंशिक क्षति भएको छ । यो अवधिमा पहिरोबाट ८८ घर प्रभावित भएका छन् । ७ पशुचौपायाको क्षति भएको छ । ७६ लाख ९० हजार बराबरको आर्थिक क्षति भएको छ ।
बैशाखदेखि हालसम्म चट्याङ र आँधीका कारण १ सय १८ घटनामा ३५ जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् । १ सय ७५ परिवार प्रभावित भएका छन् । ४ घरमा आंशिक क्षति पुगेको छ । ४ घर र ७ गोठ पूर्ण क्षति भएको छ । ८५ पशुचौपायाको क्षति भएको छ । यो प्रकोपबाट अनुमानित ४४ लाख ७७ हजार क्षति भएको केन्द्रको आंकडा छ ।
हावा हुरीका १ सय २४ घटनामा १४ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । यो प्रकोपबाट ८ सय ४२ घर प्रभावित भएका छन् र हावाहुरीबाट ५ सय १८ घरमा आंशिक क्षति पुगेको छ भने २ सय ७५ घरमा पूर्ण क्षति भएको छ । २० गोठ र ६ पशुचौपायाको क्षति भएको छ । यसबाट अनुमानित ३ करोड १० लाख ६ हजार आर्थिक क्षति भएको छ ।
भारी बर्षाका कारण भएका १७ घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यसबाट ८ घरमा आंशिक क्षति र ८ घरमा पूर्ण क्षति भएको छ । यस्तै ६४ पशु चौपायाको क्षति भएको छ । यसबाट अनुमानित ८० लाख २५ हजार रुपैयाँ क्षति भएको छ । यस्तै ७५ दिनको सो अवधिमा लेक लागेका १३ घटनामा १२ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका थिए ।
हालसम्म भएका घटनाका पीडितहरुलाई राहत र उद्दारका निम्ति तयार रहन सरकारले स्थानीय निकायलाई निर्देशन दिएको छ । पीडितहरुको जीवन रक्षाका निम्ति समेत गृहमन्त्रालयले निर्देशन दिएको छ । बर्षापछि आउने बाढीबाट बच्न र नदीको वहाबको जानकारी लिन समेत ठाउँ–ठाउँमा क्यूसेक मापन यन्त्र राखिएको छ । बाढी पहिरोको जोखिमबाट बच्न सरकारले सबैलाई आग्रह समेत गरेको छ ।