राजपामा ठाकुर बने दलको नेता
काठमाडौं, असार ३१ । राष्ट्रिय जनता पार्टीमा लामो किचलोपछि अन्ततः अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै संसदीय दलको नेता बनेका छन् । राजपाले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई शनिबार सर्वसम्मत रुपमा दलको नेता घोषणा गरेको हो ।
ठाकुरले पार्टी नेतृत्व नछोड्न र दलको नेता बन्न अनेक हथ्कण्डा प्रयोग गर्दै आएका थिए । त्यसको लागि यही असारभित्र गर्नुपर्ने पार्टीको महाधिवेशन विधान नै संशोधन गरेर एक वर्षपछिको लागि सारिएको छ ।
राजपामा संविधान विरुद्धको आन्दोलनपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको भूमिका र प्रभाव बढ्दै गएको थियो । तर यस पटकको निर्वाचनपछि ढकाल थरकी एक महिलालाई समानुपातिकबाट सांसद बनाएपछि पार्टीभित्र महतोमाथि एक्कासी प्रहार हुन थाल्यो । त्यही कारण महतो नेतृत्व मागबाट पछि हट्न बाध्य भएको बुझिएको छ ।
स्रोतका अनुसार ती महिलालाई महतोले संयोजक ठाकुरकै सहमतिमा सांसद बनाएका हुन् । उनलाई सांसद बनाउन महतोले गरेको प्रस्तावलाई ठाकुरले सहजै रसजिलै स्वीकारेका थिए । ठाकुरले स्वीकार गरेपछि अध्यक्ष मण्डलका अन्य सदस्यले पनि त्यसमा सहमति जनाए । तर अहिले भने त्यही बिषय कोट्याएर पार्टीभित्र महतोको निकै आलोचना भयो । त्यही आलोचनाकै कारण महतो ठाकुरसँग झुक्न बाध्य भएको स्रोतको भनाइ छ । राजपामा अहिले महतोले राजनीतिक महत्व तिनै महिलाकै कारण गुमाएको बताइन्छ ।