सम्मानित हुँदा वृद्धवृद्धाहरु खुशी

पाल्पा÷ रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ ले वृद्धवद्धाहरुलाई भत्तासहित फलफुल र दोसल्ला ओढाएर सम्मान गर्दै आएको छ । वडाले ८० वर्ष भन्दा माथीका वृद्धवद्धाहरुलाई सम्मान गर्दै आएको हो । वडा कार्यालयले वृद्धभत्ता लिन आउने वृद्धहरुलाई वृद्धभत्ता सँगै सम्मान गर्दै आएको वडा अध्यक्ष विष्णु पोखरेलले बताए ।
विहिबार आर्फेचौरबाट वृद्धभत्ता लिनका लागि वडा कार्यालय छहरामा आएका ८७ वर्षका बाबुराम नेपालीले चौमासिक रुपमा पाउने ८ हजार संगै हातमा फलफुल, हर्लिक्स र दोसल्लाले सम्मानित हुँदा हर्षित थिए । उनी जस्तै लौरोको सहारा लिएर बृद्धभत्ता लिन आएकी सोही वडाकी ८२ वर्षीय बिष्णु सार्की पनि पालो कुरेर वडा कार्यलयमा बसेकी थिइन् । उनलाई वडाले वृद्धवृद्धा सम्मान भन्दै फलफुलसहित दोसल्ला र ८ हजार रुपैयाँ दिएपछि खुशी भइन् । अर्की ७० वर्षीया बिष्णु कुमारी गहतराज पनि वृद्धभत्ता सहित सम्मानित भईन् । सम्मानित भएपछि उनीहरुले घरपरिवारबाट अपहेलित भए पनि स्थानीय तहले आफुहरुको सम्मान गरेकोमा खुशी व्यक्त गरे ।
वडा कार्यालयबाट ४ सय ३५ जना वृद्धवृद्धा, अपाङ्ग, जेष्ठ नागरिक र एकल महिलाहरुका लागि ३६ लाख ४८ हजार रुपैयाँ भत्ता वितरण गरिने वडा सचिव रविन्द्र रायमाझीले जानकारी दिए । दुई तिन दिनसम्म वडाबाट रकम वितरण हुन्छ वडा कार्यालय आउन नसक्ने बृद्धहरुलाई घरमा लगेर रकम बुझाउने गरेको सचिव रायमाझीको भनाइ छ ।