लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट
पाल्पा÷ जिल्ला अदालत पाल्पाले ३ सय २७ वटा मुद्दा फछ्र्यौट गरी ७२.८७ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । अदालतले पुराना १ सय १८ र नयाँ ३ सय २१ मुद्दाहरु मध्ये ४ सय ४९ मुद्दाहरु रहेकामा ३ सय २७ मुद्दाहरु फछ्र्यौट गर्न सफल भएको हो । जिल्ला अदालत पाल्पाले गत आर्थिक बर्षमा भएका बार्षिक गतिविधी सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको छ । अदालत परिसरमा पत्रकार सम्मेलन गरी जिल्ला अदालत पाल्पाले बर्षभरी भएका मुद्दा मामिला, कैद फैसला, मेलमिलाप, दण्ड जरिवाना लगायतका गतिविधी सार्वजनिक गरेको हो । अदालतले ३ सय १८ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ९ वटा मुद्दा बढी फछ्र्यौट गरी १ सय २ प्रतिशत सफलता हासिल गरेको अदालतका श्रेष्तेदार सुवर्ण खनालले बताए ।
अदालतमा दुई बर्षभन्दा बढी म्याद नाघेका कुनै पनि मुद्दाहरु फछ्र्यौट हुन बाकी नरहेको अदालतले जनाएको छ । अदालतमा १८ महिना नाघेका १४ थान, १ बर्ष देखी १८ महिना सम्मका ३ थान, १ बर्ष कम अवधिका १ सय ५ थान मुद्दाहरु फछ्र्यौट हुन बाँकी रहेको श्रेष्तेदार खनालले जानकारी दिए । अदालतले यस बर्ष ४२ वटा मुद्दा मेलमिलापबाट फछ्र्यौट गरेको छ । ८३ वटा मुद्दा मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ वटा मेलमिलाप भएको, ३ वटा मेलमिलापको चरणमा रहेको र ३३ वटा मेलमिलाप हुन नसकेको अदालतले जनाएको छ ।
नेपालमै सवैभन्दा बढी मुद्दा मेलमिलाप गराउने उत्कृष्ट अदालतको रुपमा पाल्पा जिल्ला अदालत पुरस्कृत भएको जिल्ला अदालत पाल्पाका जिल्ला न्यायाधीस शंकरराज बरालले बताए । पाल्पामा ३२ जना मेलमिलाप सहजकर्ताले काम गर्दै आएका छन् । जिल्ला अदालत पाल्पाले मिट द जज, समुदायमा अदालत, जस्ता कार्यक्रम पूर्ण रुपमा सफल भएको जनाएको छ ।
अदालतले आगामी दिनमा पत्रकारहरुसँग सहकार्य गरेर काम गर्ने जिल्ला न्यायाधीस बरालले बताए । अदालतले हालसम्म ६ करोड ७७ लाख ९४ हजार ९९ सय रुपैँया बक्यौता असुल उपर गर्न बाँकी रहेको जनाएको छ । कार्यक्रममा विभिन्न पत्रकारहरुले सोधेका जिज्ञासाहरुको जिल्ला न्यायाधीस बरालले जवाफ दिदै भदौ १ गते देखी मुलकी ऐन विस्थापित हुने र नयाँ संहिता कानून कार्यान्वयन हुने भएकोले न्याय क्षेत्रमा नयाँ किसिमका अवधारणासहित काम हुने बताए । आ.व. ०७४÷०७५ मा स्थानीय चुनाव, संघ र प्रदेशको निर्वाचनको कारण अधिकांश समय निर्वाचनमा केन्द्रित रहँदा चाहे अनुसारको मुद्दा फछ्र्यौट गर्न नसकिएको जिल्ला अदालतले जनाएको छ ।