महासमिति वैठकको तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक मतभेदलाई कम गर्दै विधान समिति बनाएर चाँडै महासमितिको वैठक बोलाउने जनाएको छ । महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ११ जनाको समिति बनाइने छ । ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, डिला संग्रौला, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, गगन थापा, धनराज गुरुङ, अर्जुननरसिंह केसी, सरिता प्रसाई विधान समितिमा रहने चर्चा छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विधान समितिमा सातै प्रदेशका नेताहरूको प्रतिनिधित्व हुने र पार्टीभित्रको सन्तुलन पनि मिलाइने बताएका छन् ।
विधान संशोधन समिति नबन्दा भदौका लागि तय भएको कांग्रेस महासमिति बैठकसमेत अन्योलमा पर्दै आएको छ । समतिले तयार गरेको विधानलाई महासमितिमा लगेर महासमिति बैठकबाट पारित गर्ने तयारी छ ।
कांग्रेसको गत १६ वैशाखमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताबिक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो । पार्टीका विभिन्न तहबाट रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना कांग्रेसको महासमिति बैठक बस्ने तयारी छ ।
उता पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सुमधुर सम्वन्ध हुन नसक्दा कांग्रेस झन्झन् कमजोर बन्दै गएको भन्दै नेताहरुले नेतृत्वलाई एकजुट हुन आग्रह गर्दै आएका छन् । कांग्रेसले वर्तमान सरकारलाई कमजोर बनाएर पुनः सत्ता प्राप्त गर्ने प्रयास गरेको छ । त्यसका लागि राजपा र नयाँ शक्तिसँग वार्ता पनि गरिरहेको छ । तर पार्टीभित्रको अन्तरकलहले माथिदेखि तल्लो तहसम्म निरासा र ध्र्रुविकरण देखिन्छ भने ती सवै कुरालाई व्यवस्थापन गर्दै सरकारविरुद्ध मोर्चाबन्दी गर्न पनि पार्टीभित्र एकता आवश्यक भएको नेताहरुको धारणा छ ।
सरकारसँग संघर्ष गर्न चाहने कांग्रेसले आफै भित्रको विभाजन र ध्रुविकरणको व्यवस्थापन गर्न सकेन भने आन्तरिक कारणले नै कांग्रेस अरु कमजोर हुन सक्ने सो पार्टीका नेताहरुले स्वीकार गरेका छन् ।
यसैवीच कांग्रेसले सरकारका विरुद्ध ७७रै जिल्लामा एकै पटक विरोध कार्यक्रम सञ्चालन गर्ने भएको छ । डा. गोविन्द केसीको मागप्रति सरकार सम्वेदनशील हुन नसकेको र जनताका समस्याप्रति गैरजिम्मेवार देखिएको भन्दै कांग्रेसले सरकारको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरेको हो । सरकारका विरुद्ध पार्टी र भ्रातृ संगठनहरुलाई सक्रिय गराउने निर्णय अनुसार कांग्रेसले साउन ३ गते प्राध्यापक र चिकित्सकहरुको अगुवाईमा प्रदर्शन गरेको थियो भने साउन ५ गते (हिजो) तरुण दलको अगुवाइमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । साउन ८ गते काठमाडौं, भक्तपुर र ललितपुर केन्द्रित प्रदर्शन गर्ने र साउन १५ गते देशभरी नै प्रदर्शन गर्ने जनाएको छ ।
हिजोको प्रदर्शनमा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित दर्जनौं कार्यकर्ता घाइते भएका छन् ।
कांग्रेसले तरुण दलको आव्हानमा भएको प्रदर्शनमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायतका नेतहरु पनि सहभागी थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि वीच सडकमा प्रवेश गरेको थियो । जुलुस भनिएपनि दौड प्रतियोगिता जस्तो गरी प्रदर्शनकारी वानेश्वरतिर दौडिएपछि प्रहरीले रोक्न खोजेको थियो । बानेश्वरमा एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसका प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि झडप भएको थियो ।
कांग्रेसका प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यासका साथै लाठी हानेको थियो । कांग्रेसका प्रदर्शनकारी र प्रहरीवीच भएको झडप र अश्रुग्यासले डा. केसीका समर्थकहरुको सभा समेत प्रभावित भएको थियो ।