वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारबाहीको माग
काठमाडौं । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले संसदमा प्रस्ताव पेश गरेका हुन् ।
सांसद डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्ति दिएर प्रसाईले संविधान र कानुनको उल्लंघन गरेको सांसदहरुको दाबी छ ।
‘प्रस्तावमा भनिएको ‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ, उनलाई कारवाही गर्नुपर्छ ।’
प्रसाईंले केही दिनअघि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।