‘सिंहदरबार–२’ शुरु
काठमाडौं । टेलिश्रृंखला ‘सिंहदरबार–२’ शुरु भएको छ । साउन १२ गतेबाट नेपाल टेलिभिजनबाट प्रसारण शुरु भएको टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको रहेको बताइएको छ ।
सो टेलिश्रृंखलाको ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक नवीन सुब्बाले नेपाली कलाकारहरुको अभिनय क्षमता अब्बल रहेको प्रशंसा गर्दै त्यसलाई सदुपयोग गरेको बताए । साथै संघियता, समावेशीकरणको मर्मलाई कलात्मक शैलीमा प्रस्तुत गर्नु आफूहरुका लागि चुनौती भएको खुलाए ।
अभिनेत्री गौरी मल्लले पहिलो सिजनको भन्दा यो सिजनमा आशा सिंहको राजनीतिक करिअरको साथमा पारिवारिक, सामाजिक, आर्थिक र उसको स्वास्थ्य लगायतका कुराहरुमा आएको उतारचढावलाई हेर्न सकिने बताईन् । समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार–२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ ।