डिएलएको नेतृत्वमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित
नवलपरासी- नेपाली कांग्रेस निकट वकिलहरूको संस्था नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को दशौं महाधिवेशनबाट अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोगमा उठेका अध्यक्षका प्रतिस्पर्धी सीताराम केसी र अर्का प्रतिस्पर्धी रामकुमार श्रेष्ठलाई हराउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको सहयोगमा उठेका अधिकारी अध्यक्ष चुनिएका हुन्।
४३१ मत पाएका अधिकारीले प्रतिद्धन्दी सिताराम केसीलाई ९४ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएको अधिवक्ता निर्भय राज पौडेलले जनाए ।
सोमवार बिहान घोषित मत परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल, महिला उपाध्यक्षमा सुष्मा बास्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, सचिवमा खडगबहादुर महिला सचिवमा बिष्णु बस्याल, कोषाध्यक्षमा सुधा खतिवडा लगायत ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।
डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका केसी र अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहेका अधिकारी प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो।