मंगलबार सरकारविरुद्ध कांग्रेसले देशभर प्रर्दशन गर्ने
नेपालगन्ज- सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद स्वरुप भोली (मंगलबार) देशभर प्रदर्शन गर्ने भएको छ ।
पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्न लागेको हो ।
प्रर्दशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेताहरुले संघीय सरकार तथा प्रदेश सरकार निर्वाचित भएर आएपछि लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको साटो मनोमानी ढंगबाट चलेको आरोप लगाए।
कांग्रेस बाँकेका सभापति किरण कोईरालाले जनताका अधिकारलाई खोसेर सरकार अधिनायकवादी भएपछि विरोध प्रर्दशन गर्न लागेको बताइन् । उनले भनिन्, ‘जनता यतिबेला सरकारबाट आतंकित भईसकेका छन्, जनताको अधिकार खोसेर सरकार अधिनायकवाद भयो भने अर्कोतिर अघिल्लो सरकारले जनताको हितमा गरेका राम्रा निर्णयलाई बदर गरिदिएको छ।’
कांग्रेसका जिल्ला सचिव कपिलदेव शर्माले पार्टीको आन्तरिक कलहलाई थाती राखेर सरकारका विरुद्ध प्रर्दशनमा उत्रिन कार्यकर्ताहरु एकढिक्का भएको पत्रकार सम्मेलनमा बताए।