आज साउने पन्ध्रः खीर खाने दिन

काठमाडौं- आज साउन १५ अर्थात खीर खाने दिन। आज घरघरमा खीर बनाएर भोज गर्ने गरिन्छ । भने घरमा खीर नबनाउने र बजारमा बस्नेहरुले होटलहरुमा गएर भएपनि खीर खाने गर्दछन् ।

खीर बनाउँदा खासगरि चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर तयार गर्ने गरिन्छ । धार्मिक पर्वहरुमा, तीज, श्राद्ध, देवाली, ब्रतबन्ध जस्ता कार्यहरुमा विशेष परिकारका रूपमा खीर पकाउने चलन रहेको पाइन्छ । खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने चलन हाम्रो समाजमा रहदै आएको छ ।

शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गर्ने चलन हाम्रो समाजमा छ।

खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ ।

साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ ।

यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो।

‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ। यद्यपि खीरमा पाइनेजस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो। तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ। त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्छ