वर्षेनी हराउँदै नेपालका सिमा स्तम्भ
नेपालगन्ज- जिल्लाको जानकी गाउँपालिका–१ साईगाउँ बढैयास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भलाई बर्सेनि नालाले कटान गरिरहेको छ।
नेपाल भएर बग्ने उक्त नालाले मुख्य सीमा स्तम्भ बगाउने जोखिम बढेको छ। तर, सीमा स्तम्भ जोगाउन दुवै देशका अधिकारी भने मौन रहेको स्थानीय बासिन्दा बताउँछन्। ‘खोलाको बीच भागमा मुख्य सीमा स्तम्भ छ, पटकपटक खोलाले काट्दा यो स्तम्भ निकै जोखिममा परेको छ,’ स्थानीय ईब्रार हुसेन खाँले भने।
उक्त क्षेत्रमा भारतीय पक्ष आएर सीमा स्तम्भ निरीक्षण गर्ने गरे पनि नेपाली पक्षलाई कुनै चासो नभएको उनले सुनाए। खोलाको बीचमा रहेको उक्त स्तम्भ जीर्ण अवस्थामा पुगेपछि यसअघि मर्मत गरिएकोमा पुनः खोलाले बगाउने खतरा रहेको स्थानीयको भनाइ छ।
सीमा स्तम्भको सुरक्षाका लागि बलियो तटबन्ध नहुँदा पटकपटक समस्या आएको स्थानीय अगुवाको भनाइ छ। सरकारले सीमा स्तम्भप्रति चासो नदिने हो भने भारतीय पक्षद्वारा सीमा मिचिने खतरा रहेको उनीहरू बताउँछन्। भारतले सीमा स्तम्भ निगरानीका लागि आफ्नो सीमा सुरक्षा बल ९एसएसबी० लाई २४ सैं घण्टा दसगजा क्षेत्रमा खटाएको छ । यसका लागि करिब एक किलोमिटर दूरीको फरकमा भारतले एसएसबी क्याम्प राखेको छ। नेपाली सुरक्षाकर्मी भने दसगजा क्षेत्रमा विरलै देखिन्छन्।
‘दसगजा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण गर्ने दायित्व दुवै देशको हो, सीमा स्तम्भको संरक्षण भएपछि भोलि विवाद आउँदैन,’ स्थानीय युवा जाकिर राईले भने, ‘हाम्रो देशलाई त्यति चासो छैन, भारतले २४ सैं घण्टा चासो बढाइरहेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।