गगनले माफी मागे, प्रसाईंले के गर्लान् ?

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको बारेमा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।

आफ्नो उदेश्य त्यहाँ पढेका डाक्टरहरुलाई चोट पुर्याउनु नभएको, तर आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुमा चोट पुगेकोमा माफी मागेका हुन् ।

मंगलबार फेसबुक लाइभमार्फत उनले राम्रोसँग पढ्ने र मेहनत गर्ने विद्यार्थी र डाक्टरहरुको आत्मसम्मानमा चोट पुगेकोेमा दुःख लागेको कुरा बताएका छन् । उनले केही दिनअघि बानेश्वरमा भएको कार्यक्रममा बंगलादेशमा पढ्ने ९० प्रतिशत विद्यार्थीले प्रमाणपत्र पाउने निश्चित भएपछि मात्र पढ्न जाने गरेको बताएका थिए ।

उनले माफी माग्दै भनेका छन् ‘मेरो धारणाको आशय पहिला पहिला छात्रवृत्तिमा होस वा लगानी गरेर होस्, विभिन्न देशमा गएर मेहनतका साथ गुणस्तरीय शिक्षा लिएर अहिले नेपालमा नै सेवा गरिरहेका हरूप्रति लक्षित होइन, अनि अहिले छात्रवृत्तिमा गएका, आफ्नो छनोटले गुणस्तरीय कलेजमा मेहनत साथ पढिरहेका प्रति पनि लक्षित होइन । पछिल्ला वर्षहरूमा (सन २०१६ अगाडि) नेपालमा प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी नेपाल बाहिर पढ्न जाने बढ्दो प्रवृत्ति र विदेशमा पनि नेपाल लगायतलाई नै लक्षित गरेर खोलेका कलेजहरूले गर्दा बहुसंख्यक विदेश गएका विद्यार्थीहरू केवल सर्टिफिकेटको लागि मात्रै गएका छन भन्ने मेरो आशय हो । मेरो धारणासंगै थुप्रै साथीहरूले त्यसरी प्रतिशतमा सामान्यीकरण नगरिदिएको भए हुन्थ्यो भनेर भन्नुभएको छ, साथीहरूको त्यो धारणाप्रति म सहमत छु । मेरो आशयलाई बुझिदिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।’

यद्यपी म यो पुन: प्रष्ट पार्न चाहन्छु । अहिले पनि वर्षको २०–३० जना विद्यार्थी छात्रवृत्तिमा पढ्न गएका छन् । थुप्रै विद्यार्थी आफ्नो छनोटमा बाहिर गएका छन् , मेहनेत गरेर पढिरहेका छन्। त्यसमध्ये केहि विद्यार्थीहरू पढाइ सकेर नेपालमा आएर राम्रो सेवा दिइरहेका छन् । जो माथि मैले उल्लेख गरेको श्रेणीमा पर्दैनन्। मेरो भनाई ति लगनशील विद्यार्थीका निम्ति हुँदै होइन । तर पनि मेरो भनाइका कारणले कसैलाई चोट पुगेको भए दुस्खी छु ।

अब प्रसाईंले के गर्लान् ?

कांग्रेस नेता गगन थापाले यसरी आफुले दिएको अभिब्यक्तिका कारण विद्यार्थीमा पर्न गएको गुनासोलाई मनन गर्दै माफी माग्नु सकारात्मक पक्ष हो । हुन त यस्ता अभिब्यक्ति दिने समयमा सचेततता अपनाउनु नै बुद्धिमानी हुन्छ । गगनले माफी मागेको बिषयलाई लिएर सबैतिर सकारात्मक टिप्पणी हुन थालेका छन् भने अर्कोतिर यस्तै अभिब्यक्ति दिने ब्यवसायी दुर्गा प्रसाईंले के गर्लान् भन्ने विषयलाई चासोको रुपमा लिईएको छ ।

प्रसाईंले त बंगलादेशमा अध्ययन गर्ने छात्राहरुमाथी लगाएको आरोप गगनको भन्दा भिन्दै र अझै निन्दनीय छ । उनले अहिले सम्म खुला रुपमा माफी मागेका छैनन् भने उनको अभिब्यक्तिप्रत्ति सरकारले कुनै चासो दिएको छैन ।

बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले गत शनिबार विज्ञप्ती निकालेर दुर्गा प्रसाईं माथी कारवाही र कांग्रेस नेता गगन थापालाई स्पष्टीकरण सोधेर माफी माग्न सरकारको ध्याकर्षण गराएका थिए ।