सुटुक्क जापान उडे काठमाडौँका मेयर विद्यासुन्दर

काठमाडौं- काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।

निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका शाक्य परराष्ट्रलाई थाहै नदिई सुटुक्क जापानतिर लागेका हुन् ।

परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय होु, उनले भने, ‘हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’

उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेकोबारेमा बुझ्नु पर्ने बताए । ‘आज त योबारेमा बुझ्न सम्भव छैन, अब भोलि बुझौँला,’ प्रवक्ता कुबँरले भने ।

स्थानीय तहका जनप्रतिनिधिहरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफूखुसी विदेश जान रोक लगाइसकेको छ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सरकारले विदेश जान अनुमति दिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिनाकारण विदेश सयरलाई रोक्न निर्देशन दिइसकेका छन् ।