साउदीबाट मुम्बई उड्न लागेको विमान चिप्लियो

काठमाडौं- साउदी अरेबियाबाट भारतको मुम्बईका लागि उड्दै गरेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

रियादबाट टेकअफ लिँदै गर्दा समस्या आएपछि रनवेमै चिप्लेको हो ।

विमानले गति लिँदै गर्दा अचानक रनवेबाट चिप्लिए पनि विमानमा रहेका १४९ जना सुरक्षित रहेका छन् । विमानमा १४२ यात्री र ७ चालक दलका सदस्य थिए ।

जेट एयरवेजले जारी गरेको बयानमा भनिएको छ –रियादबाट मुम्बई जाने ९ डब्लु ५२३ विमानबाट सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालेर टर्मिनल भवनमा लगिएको छ ।’

यता, मुम्बईबाट दुबई जाने विमानमा पनि समस्या आएको छ । छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जाने एयर इन्डियाको विमानमा पनि समस्या आउँदा १५० यात्रुले एयरपोर्टमै हंगामा गरेका छन् ।

उनीहरुको एयर इन्डियाका कर्मचारीसंग भनाभनसमेत भएको छ । बिहिबार राति ८ बजे एआई–९८३ विमान दुबई जानुपर्ने थियो ।