सुत्केरी बिदा पछि काममा फर्किइन् प्रधानमन्त्री आर्डेन

लन्डन- छ साता लामो सुत्केरी बिदापछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा आर्डेन आफ्नो कार्यालय फर्किएकी छन्।

३८ वर्षीया प्रधानमन्त्री आर्डेनले यही जुन महिनामा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी थिइन् । प्रधानमन्त्री रहँदै सन्तान जन्माउने उनी विश्वको दोस्री नेत्रीसमेत हुन् ।

छ साता लामो बिदा बसेर यसै साताबाट कार्यालय जाने सोच बनाएकी प्रधानमन्त्री आर्डेनले शनिबार लामो बिदापछि कार्यालय के गर्नेछु भनेर एउटा भिडियो फेसबुकमा सेयर गरेकी थिइन् । सुत्केरी बिदामा बस्दा आर्डेनले आफ्नो जिम्मेवारी उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई सुम्पिएकी थिइन् ।

चिकित्सकले दिएको मितिभन्दा चार दिन अगावै उनले जुन २१ का दिन पहिलो सन्तानका रूपमा छोरी नेभ गेफर्डलाई जन्म दिएकी थिइन् । टिभीएनजेडसँग कुरा गर्दै आर्डेनले देशका जनता, आफ्नो टोली र कार्यवाहक प्रधानमन्त्रीको सदासयता र सहयोगले गर्दा आफू छोरीसँग बस्न पाएकोमा प्रसन्नता व्यक्त गरेकी छन् ।

गत अक्टोबर महिनामा न्युजिल्यान्डकी प्रधानमन्त्री निर्वाचित भएकी आर्डेनले जनवरी महिनामा आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । ‘विविध काम गर्ने विश्वमा म मात्रै एउटा महिला हैन । काम गरेर बच्चा हुने पनि म मात्रै हैन । मभन्दा नि पहिले यस्तो गर्ने विश्वमा धेरै महिला छन्,’ त्यसबखत उनले बताएकी थिइन् ।

सन् १८५६ पछि न्युजिल्यान्डमा उनी सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीकै पदमा बहाल रहँदा सन् १९९० मा पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टोले छोरी जन्माएकी थिइन् । प्रधानमन्त्रीको पदमा रहँदा सन्तान जन्माउने भुट्टो नै विश्वकी प्रथम महिला हुन्।