रातारात पार्टी अफिसका कुर्सीहरु गायव भएपछि…

काठमाडौं- चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।

नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।

कार्यालयमा रहेको २५ लाख भन्दा बढीको फर्निचरलाई गच्छदारले निजी सम्पत्ति बनाएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताएका छन् ।

पार्टी एकता भएका बेला फोरमको चलअचल सम्पत्ति कांग्रेसकै हुने सहमति भएको थियो । फोरमबाट आएका नेताहरूले आफ्नो भूमिका खोजिरहेका बेला कांग्रेस नेताहरूले एकता गर्नुअघिको सम्पत्ति खोजविन गरेका बेला यस्तो पत्ता लागेको हो।

पार्टीको ल्यापटप, कम्प्युटर, दराज, सोफा, टेबल लगायतका सामग्री थियो । तर, गच्छदारले आफ्नो छोराको नाममा सञ्चालन गर्न लागेको वित्तीय संस्थामा लगेर राखेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारको निर्देशनमा उनी निकट फोरम नेता भारतेन्द्र मल्लिकले पार्टी कार्यालयका फर्निचर ओसारेका हुन् ।