शंकराचार्य हेमानन्द गिरी: आधिकारिकता कि भ्रम ?
सनातन हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्य बनेको घोषणा गरेकी नेपाली युवती (हेमा ढुङ्गाना) हेमानन्द गिरीलाई काशी विद्वत् परिषद्ले अवैध घोषणा गरेपछि नेपाली समाज तरङ्गित भएको छ ।
भारतीय महामण्डलेश्वर साधुहरुको संगठन भारत धर्म महामण्डल र काशी विद्वत् परिषद्ले हेमानन्द गिरी शंकराचार्य नबनेको बक्तव्य सार्वजनिक गरेको हो । परिषद्का अध्यक्ष प्राध्यापक रामयव शुक्ल, वरिष्ठ उपाध्यक्ष प्राध्यापक वशिष्ठ त्रिपाठी र महामन्त्री प्राध्यापक शिवजी उपाध्यायको हस्ताक्षर भएको वक्तव्यले पशुपति मठमा शंकराचार्यका रुपमा हेमानन्द गिरीलाई स्थापित गरिएको सन्दर्भमा परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आदि शंकराचार्यले भारतका चार दिशामा चार मठको विधिवत् स्थापना गरेको र ती मठमा विधिवत रुपमा ‘अभिषिक्त वीतराग महामण्डलेश्वर सन्न्यासी’ लाई मात्र शंकराचार्य पद मिल्ने कुरा सर्वव्यापी सिद्धान्त स्पष्ट छ । चार वेद, चार धाम (काँची, द्वारका, पुरी र बद्री मठ), चार शंकराचार्य, चार मठ हिन्दु धर्मका विशिष्ट सम्पदा हुन् । चार धाममा बाहेक कहीँ र कोही शंकराचार्य नहुने भएकाले नेपालमा नियुक्त भएकी भनिएकी हेमानन्द गिरी शंकराचार्य नभएको स्पष्ट हुन्छ ।
भारतको चार मठबाहेक अन्य कुनै पनि मठका ‘अभिषिक्त’ महामण्डलेश्वर संन्यासीलाई शंकाराचार्य भन्न मिल्दैन । शंकराचार्य हुन दण्डी साधु हुनुपर्ने र दण्डी साधु हुन पुरुष हुनै पर्ने स्पष्ट बिधान छ । करुणा, भेष, देश, लिङ्ग जस्ता कुरामा नअल्झेर “मठायामनुशासनम्” अनुसार मापदण्ड,योग्यता र प्रक्रियामा रहेर शंकाराचार्य चयन गरिने कुरा महेश संस्कृत गुरुकुलका प्राचार्य गुरुप्रसाद सुवेदीले बताउनुभएको छ ।
हेमानन्द नेपाली चेली भएकीले उनी ज्योतिष्पीठको शंकराचार्य बन्न नसके पनि पशुपतिपीठको शंकराचार्य आधिकारिक रूपमा नियुिक्त हुनु गौरव हुन सक्थ्यो, तर अझ भारतको कुनै एक संस्था वा समूहले नेपालका लागि नयाँ पीठ र शंकराचार्यको व्यवस्था गर्नु झनै राष्ट्रिय अपमान र लज्जास्पद कुरा हो ।
वास्तविक हेमानन्द गिरी
मोरङको पथरी जन्मघर भएकी हेमानन्दको खास नाम हेमा ढुंगाना हो । केही समय पहिले उनी महिला पतञ्जली योग समिति नेपालकी जिम्मेवार व्यक्ति थिइन् । हेमा ढुंगाना नेपाल विद्यार्थी संघमा लामो समय केन्द्रीय राजनीतिमा संलग्न थिइन् । पछि नेपाली काँग्रेस छोडेर उनले राप्रपाबाट चुनाव समेत लडेकी थिइन् ।
नागा अघोर परम्पराबाट दीक्षित झापा गौरीगञ्जस्थित वैदिक सूर्य शिवालय मठकी प्रमुख उनले उज्जैन महाकुम्भ मेलाबाट विश्वका दुई सय महामण्डलेश्वरहरुका प्रतिस्पर्धीलाई उछिनेर शंकराचार्य भएको समाचार आएको थियो ।
उत्तर ज्योतिष्पीठको शंकराचार्य विवादका सन्दर्भमा इलाहाबाद उच्च न्यायालयले काशी विद्वत् परिषद् र भारत धर्म महामण्डलले नाम चयन गरी तीन पीठका शंकराचार्यहरूको सहमतिअनुसार ज्योतिष्पीठको शंकराचार्य नियुक्ति हुनु पर्ने निर्णय सुनाएको थियो । न्यायालयले दिएको समयसीमा सकिएपछि काशी विद्वत् परिषद्ले थप समय मागेको छ । स्मरण रहोस् यस सन्दर्भमा अखिल भारतीय विद्वत् परिषद्को कुनै आधिकारिक भूमिका छैन ।
अखिल भारतीय विद्वत् परिषद् शंकराचार्य नियुक्ति गर्ने आधिकारिक संस्था होइन । हिन्दू धर्मको सर्वोच्च पदको मर्यादाको प्रश्न भएकाले यसको निर्णय गर्दा कुनै आवेग भेष, लिङ्ग र सहानुभूतिलाई प्रयोग गर्न मिल्दैन । आज आवेगले निर्णय गर्दा भोलि कुनै चारित्रिक त्रुटि भेटिएको खण्डमा सम्पूर्ण शंकराचार्य परम्पराकै बेइज्जत हुनसक्दछ । यदि हेमानन्दको सनातन हिन्दु धर्म संस्कृतिको उन्नयनमा त्यस्तो उल्लेखनीय योगदान भएको भए उनलाई कुनै अन्य उपाधिले विभूषित गरौँ, तर शंकराचार्य नामको दुरुपयोग नगरौँ । यस विषयमा हेमानन्दको मनोभावगत मानवीय कमजोरी छन् , जसले जसरी भए पनि प्रसिद्ध बन्न खोजिन् । तर मिडियाले तथ्य पत्ता नलगाई हिन्दु धर्मको विषयमा जथाभावी बोल्नु लेख्नुले मिडियामाथि नै प्रश्न चिह्न खडा भएको छ ।