अर्घाखाँचीमा दाउराले हानी हत्या गर्ने अभियुक्त एक वर्ष पछि पक्राउ

अर्घाखाँची- अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक वर्षअघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ ।

माथिल्लो घरको कुलेसो तल्लो घरबाट बगेको निहुँमा छत्रदेव ७ की ६४ बर्षिय श्यामकला पाण्डेलाई छिमेकी ५५ बर्षिय उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुलासा भएको हो ।

प्रहरीले हत्या अभियुक्त उमा पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।

२०७४ साल असोज ३ गते साबिक भगवती हाल छत्रदेव गाउँपालिका वडा नम्वर ७, की ६४ बर्षिया श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

प्रहरीका अनुसार, त्यसभन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई जग्गाको बैना लिएर पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ । हत्याको उक्त दिन बृद्धा लडेको स्थानमा रगतको पोखरी बनेको र उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए ।

एक बर्षको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न दोषी पत्ता लगाएको हो ।