यो वर्ष टोल टोलमा जनचेतना अभियान चलाउँदै छौं
– जानुका थापा (वडा सचिव, भरतपुर महानगरपालिका १६, चितवन)
वडा नंबर १६ लाई भरतपुर महानगरपालिका भित्रको सुगम वडा भनिए पनि यहाँको कागजी काम अति दुर्गम जिल्लाको भन्दा कम गाह्रो छैन । १५ हजारको सेरोफेरो जनसंख्या भएको यो वडामा यस्तो अनुभव गर्ने अहिलेको मूल व्यक्तिको नाम हो जानुका थापा । वडा सचिव भएर यस वडामा आएको वर्ष दिन भित्र उहाँले यहाँको पञ्जिकरण समस्याको पहाड उक्लने क्रम जारी छ । निकै शालीन र सहयोगी स्वभावकी उहाँको अनुभवमा जन्म दर्तादेखि लिएर मृत्यु दर्तासम्मका सबै प्रकृयामा अपूर्ण कागजातको समस्या विद्यमान छ । यहाँका अधिकांश मानिसमा जनचेतनाको अभाव र होसियारीको कमी देखिन्छ । यी र यस्तै समस्यासँग जुध्दै र बुझ्दै निराकरणमा पु¥याउँदै आउनुभएकी वडा सचिव अर्थात स्थानीय पञ्जिकाधिकारी थापासँगको कुराकानी शिशिर सापकोटामार्फत आजको अंकमा ।
यो वडामा कहिलेदेखि कार्यरत हुनुहुन्छ ?
म यस वडामा २०७४ सालको असोजदेखि कार्यरत छु ।
यस अवधिमा यो वडामा कागजी समस्या के कस्तो पाउनु भयो ?
यो वडा भरतपुर महानगरपालिका भित्रको सुगम वडामै परे पनि कागजी समस्या कुनै दुर्गम जिल्लाको यति होला कि नहोला भन्ने लाग्छ धेरैलाई, त्यति धेरै समस्या देखिए र देखिदै छन् ।
खासगरी के कुरामा बढी समस्या रहेछ ?
पञ्जिकरणसम्बन्धी धेरै समस्या छ । जन्म दर्ता गर्न आउँदा होस् वा विवाह दर्ता गर्न आउँदा वा मृत्यु दर्ता गर्न आउँदा कुनै पनि व्यक्तिगत घटना दर्ता गर्दा चाहिने ‘सपोर्टेड डकुमेन्ट’ अपुरो नै हुन्छ । फरक फरक नाम भएको व्यक्तिगत समस्या उत्ति छन् । जस्तै ः लालपूर्जामा एउटा नाम छ, नागरिकतामा अर्कै । यो समस्या एकदमै छ । यसलाई करेक्सन गर्नुप¥यो भने पनि आवश्यक कागजात नै नपु¥याई आउनुभएको हुन्छ कैयन् सेवाग्राही । म यहाँ आएपछि गर्नुपर्ने नागरिकताका कम्तिमा ४ वटा सिफारिस यस्ता थिए कि यहाँका प्रतिनिधिले फलानाको छोरो÷छोरी हो त भन्ने तर आवश्यक पर्ने ‘सपोर्टेड डकुमेन्ट’ केही नभएको । धेरै कोसिस गरेर चाहिने डकुमेन्ट जुटाएर बल्ल सिफारिस गर्न सकियो ।
यस्ता समस्या हुनुको कारक तत्वबारे तपाईंको अनुभवले के भन्छ ?
यहाँ आदिवासी जनजातिको उल्लेख्य जनसंख्या रहेछ । उहाँहरूको मृत्युसंस्कारमा पहिले पहिले के हुँदो रहेछ भने मानिस मरिसकेपछि उसका कपडा पनि सबै जलाउनु पर्छ भन्ने । तिनै कपडामा रहेका कागज पनि जलेर कुनै कुराको प्रमाण नै नरहने अवस्था । कतिपयले त व्यक्तिगत घटनाका कागज पनि जलाउनु पर्छ भन्ने चलन अनुसार गर्दा त झन् केही प्रमाण रहने कुरै भएन । अहिले त्यस्तो चलनमा कमी आए पनि कतिपय कामका लागि कागजात त पुराना पनि चाहिन्छन् यो एउटा कारक तत्व भएको मेरो अनुभव छ । साथै, यहाँका केही मानिसमा जनचेतनाको अभाव देखियो । केहीमा लापर्वाही वा अनिच्छा पनि हो कि जस्तो लाग्छ । अन्यथा नलिइयोस् यस्तो समस्या अधिकांश त दलित र जनजातिमा देखिएको छ । उहाँहरूमा बढी दोश्रो विहे गरेको पाइयो । अनि बच्चाहरूलाई कागजी समस्या स्वतः सिर्जना भएको देखियो ।
दलितलाई त सरकारले पञ्जिकरणको कामका लागि एक हजार भत्ता दिने गरेको छ, पोषण भत्ता छुट्टै छ हैन र ?
हो, तै पनि उहाँहरूले समयमा पञ्जिकरणको अर्थात् व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद बसाईसराई आदि) दर्ताको काम गर्नुहुन्न । यसलाई लापर्वाही भन्ने कि जनचेतनाकै कमी भनेर चित्त बुझाउने सोचनीय कुरो छ ।
जस्तै अरू के के समस्या देखिदो रहेछ ?
जन्म दर्तामा तीन पुस्ते खोज्दा पाउन गाह्रो । विवाह गरेर छोराछोरी जन्मेर उनीहरूको पनि विवाह गर्ने बेलामा बल्ल बाऊ आमा विवाह दर्ता गर्न आउँछन् । कोहीले त दोश्रो विहे गरिसकेका हुन्छन् । अनि ती बच्चाको जन्म दर्ता गर्न बाऊ आमाको विवाह दर्ता खोज्दा हुँदैन । यी यावत समस्या छन् । हामीले त अब यस्तो समस्या नपरोस् भनेर छोराछोरीको जन्म दर्ता गराउन आउने बाऊ आमालाई पहिले विवाह दर्ता गर्न लगाउने अनि दुवैजनाको नागरिकता बनाउन लगाउने अनि बल्ल छोराछोरीको जन्म दर्ता गर्दिने गरेका छौं ।
समस्या त धेरै नै देखियो, समस्याका उपाय के हुन सक्छन्, खोजी गर्नुभएको छ ?
खासगरी यस्तो समस्या भएको अवस्थामा जनप्रतिनिधि र अन्य स्थानीयलाई साक्षी राखेर फोटो प्रमाणित गर्दै आफ्नो कार्य सम्पन्न गरेका छौं । यी समस्याका लस्कर देखेर हामीलाई के महसुस भयो भने भौतिक पूर्वाधार भन्दा जनचेतनाले बढी परिवर्तन ल्याउँदो रहेछ । त्यसैले क्षमता विकास वा जनचेतनाको सशक्तिकरणमा जोड दिदै अब यो आर्थिक वर्षदेखि हामीले केही विशेष जनचेतनाका कार्यक्रम अभियानकै रूपमा अघि बढाउँदै छौं । जस्तो कि यस वडामा ४० वटा टोल विकास संस्थाहरू छन् । ती संस्थासँग समन्वय र सहकार्य गर्दै टोल टोलमा पञ्जिकरणसम्बन्धी अर्थात् सोझो भाषामा भन्नु पर्दा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सम्बन्ध विच्छेद र बसाईसराईजस्ता घटना ३५ दिन भित्र गर्ने÷गराउने वातावरण सिर्जना गर्ने खालका जनचेतनाका कार्यक्रम चलाउने । नागरिक वडापत्र वडा कार्यालयमा त छँदैछ अन्यत्र चोक चोकमा पनि टाँस्ने । ताकि जनमानसमा प्रचार प्रसारको राम्रो प्रभाव परोस् ।
यसअघि जनचेतनामूलक कार्यक्रम गर्नुभएको थिएन ?
उहाँहरूकै लागि क्षमता विकासको कार्यक्रममा सहभागी गराउँदा उल्टै भत्ता खोजेको अनुभव गरियो । जो हामीबाट सम्भव थिएन, शायद त्यसैले उहाँहरूले चासो दिन चाहनु भएन । बजेट निकासाले गर्दा हाम्रो बाध्यता फेरि जेठको अन्तिमबाट असारको अन्तिमतिर कार्यक्रम गर्नुपर्ने । त्यो समय उहाँहरू खेती लगाउने काममा व्यस्त हुनुपर्ने भएकाले पनि हुनसक्छ । कोसिस गरे पनि लक्ष्यमा पुग्न गाह्रो भयो । अब हामी फरक ढंगले जाने योजनामा छौं भनेर अघि भनें ।
यसअघि कुन निकायमा हुनुहुन्थ्यो ?
म यसअघि वडा नं. १० को सेवा केन्द्र प्रमुखका रूपमा कार्यरत थिएँ ।
यस्ता समस्या थिए कि थिएनन् ?
त्यहाँ करिब डेढ वर्ष केन्द्र प्रमुख भएर काम गर्दा पञ्जिकरणमा कागजी समस्या देखिएन भन्दा पनि हुन्छ । एकादुई घटना हुनु अझैसम्म त्यति अस्वाभाविक पनि हुन्न । यसैले त्यस्ता घटना नगन्येजस्तै हुन् ।
काम छिटो भएन भन्ने जनगुनासो पनि छ, त्यसबारे तपाईंको भनाइ के छ ?
हो, जनगुनासो छ भन्ने कुरालाई म स्वीकार्छु । र, कारण पनि खुलस्त पार्छु ।
नंबर १ त सपोर्टेड डकुमेन्टको अभावमा डकुमेन्ट जुटाएर आउनुस् भनेर फर्काउनु परेको छ, त्यसमा उहाँहरूको गुनासो होला । उहाँहरूलाई घर फर्काइ राख्नु राम्रो कुरा होइन भन्ने कुरामा हामी सचेत छौं । तै पनि डकुमेन्ट नै नपुगेपछि कानुनी रूपमा अवैध हुने काम हामीले गर्न मिल्दैन, त्यो कुरा उहाँहरूले बुझिदिनु प¥यो ।
नंबर २ मा हामीसँग कार्यजिम्मेवारीको लामै लिष्ट छ, त्यसको अनुपातमा काम गर्ने कर्मचारी भनूँ वा जनशक्ति जम्मा ६ जना छौं । अहिले अनलाइन सेवा दिने भनिएको छ र दिइएको छ । भएका जनशक्तिमा पनि सबै कम्प्युटरमा काम गर्न सक्ने हुनुहुन्न । अनलाइन सेवा प्राविधिक कुरा हो यसमा कहिलेकाहीँ गड्बडी आउन सक्छ, भन्दावित्तिकै बनाउन पनि जनशक्ति नपाइने अवस्था छ । कर्मचारीको अभावका कारण आउने जनगुनासालाई न्यूनिकरण गर्नेगरी सम्बोधन गर्न सम्बन्धित निकायलाई मेरो अनुरोध छ आवश्यक र योग्य कर्मचारी उपलब्ध गराइयोस् भन्ने ।
अहिले वडालाई के के कार्यसम्पादन गर्नुपर्ने जिम्मेवारी छ र ?
एकिकृत सम्पत्ति कर, नाता कायम, नाता प्रमाणित, चार किल्ला प्रमाणित, घरबाटो प्रमाणित, बिक्रिका लागि घरजग्गा मूल्यांकन, आय प्रमाणित, सम्पत्ति मूल्यांकन, जन्ममिति प्रमाणित, ठेगाना प्रमाणित, पञ्जिकरण अन्तर्गत–जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद) नागरिकता सिफारिस, व्यवसाय दर्ता, व्यवसाय बन्द, ठाउँसारी, नामसारी, खानेपानी, विद्युत र काठको सिफारिस, नाबालक सिफारिस, निःशुल्क उपचार सिफारिस, छात्रबृत्तिको सिफारिस, बसोबास प्रमाणित, करचुक्ता, सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अद्यावधिक, बाटोको लगतकट्टा सिफारिस, लालपूर्जा प्रतिलिपि सिफारिस, नागरिकता प्रतिलिपि सिफारिस र अन्य विविध सिफारिसहरू अनि राजस्वको दैनिक ‘अपडेट’ आदि ।
यस वडामा आर्थिक वर्ष ०७४\७५ को प्रगति विवरण कस्तो रह्यो जानकारी गराउनु हुन्छ कि ?
महानगरपालिकाबाट विनियोजित बजेट कुनै पनि फ्रिज भएन । शुरुवात वैशाखबाट भए पनि असार मसान्तसम्म सबैजसो काम सम्पन्न गर्न सकियो । लक्षित बर्गलाई लाभ पु¥याउन सकिएकोले प्रगति सन्तोषजनक रह्यो । यस आर्थिक वर्षदेखि कार्यक्रमको तौरतरिका बदलिदै छ । यसअघि कार्यक्रमहरू वैशाख÷जेठतिर स्वीकृत भई असार मसान्तभित्र काम गरिसक्नु पर्ने बाध्यता थियो भने अबदेखि प्रत्येक चौमासिकमा स्वीकृत भई तत्काल काम गर्न सकिने अवस्था सिर्जना हुँदैछ ।
यहाँका जनप्रतिनिधिको भूमिका कस्तो छ नि ?
मैले त अहिलेसम्म सकारात्मक नै पाएकी छु । कागजी रूपमा नहुने कामलाई गर्दिनै पर्छ भनेर दबाब दिनुभएको छैन । समस्या सल्टाउन कोसिस गर्ने जिम्मेवार जनप्रतिनिधिकै महसुस गरेकी छु ।
अनि टोल विकास संस्थाहरूको भूमिका कस्तो छ त ?
टोल विकास संस्थाहरूको भूमिका पनि सकारात्मक छ । आफ्नो टोलको विकासका लागि लागिपर्नु भएको छ । अहिलेसम्म अनावश्यक र अस्वाभाविक दबाब र प्रभाव लिएर डेलिगेशन आउने प्रबृत्ति देखिएको छैन ।
अन्त्यमा, जिम्मेवार वडा सचिवको हैसियतमा १६ नंबरका वडावासीलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त मलाई वडावासीसमक्ष यी कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईंको मिडियाको टिमलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु । अहिले यहाँका वडावासीमा काम परे मात्र वडामा आउने नपरे नआउने अवस्था देखेकी छु । तर म चाहन्छु आफ्नो व्यक्तिगत काम नपरे पनि एउटा जिम्मेवार नागरिकको हैसियतले वडा कार्यालयमा आएर यहाँका योजना, कार्यक्रम र लक्ष्य आदि–ईत्यादीको जानकारी लिने र टोलमा जानकारी दिने गर्नुस् । त्यसो गर्दा वडावासीमा सचेतना बढ्छ भन्ने लाग्छ । वडावासी प्रायः वडा कार्यालयमा नआउने कारणले गर्दा समयमा कार्यक्रम गर्न सक्ने अवस्थाबाट पनि छुटिन्छ । जस्तो कि जेठको अन्तिमतिर आएर सोही आर्थिक वर्षका लागि कार्यक्रम माग्नुहुन्छ, जुन काम ढिलो भईसकेको हुन्छ । त्यो समय त अर्को आर्थिक वर्षका लागि माग्ने समय हो । समय परिस्थिति अनुरुप ‘मोडालिटी’मा फेरबदल आउन सक्ने भएकाले सोको जानकारीका लागि पनि सचेत वडावासी बेलाबखत वडा कार्यालय आएर योजना, कार्यक्रम र लक्ष्य आदिका बारे बुझ्नै पर्छ ।