लक्ष्मीद्वारा मृतकका आफन्तलाई बीमा रकम हस्तान्तरण

पाल्पा÷ हुमीन बस दुर्घटनामा परी मृत्यु भएका आफन्तलाई लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बीमा रकम सहयोग गरेको छ । सहकारीले आफ्ना शेयर सदस्य र कर्मचारीहरुका आफन्तहरुलाई एक कार्यक्रम गरी मंगलबार सहयोग गरेको हो ।
जेठ १८ गते सहकारी अवलोकन भ्रमणका लागि रामपुर जाने क्रममा हुमीनमा उनीहरु सवार बस दुर्घटना हुँदा सहकारीका १३ जना सदस्य र सहकारी डिभिजन प्रमुख कृष्ण बहादुर बोहोरासहित १४ जना सहकारी पाल्पाली अभियन्ताहरुको दुःखद् निधन भएको थियो । एक दर्जन भन्दा धेरै घाईते भएका थिए । सहकारीले नेको इन्स्योरेन्स कम्पनीमा मृतकहरुको बीमा गराइदिएको थियो । बीमा बापतको रकम सहकारीका अध्यक्ष हरी रायमाझी र नेको इन्स्योरेन्सका तत्कालीन प्रवन्धक सन्तोष पौड्यालले संयुक्त रुपमा मृतकका आफन्तहरुलाई रकम हस्तान्तरण गरेका छन् ।
सहकारीले १० जना मृतक शेयर सदस्यहरुका आफन्तहरुलाई बीमा बापतको रकम २ लाखका दरले र सहकारीका तीन जना कर्मचारीका आफ्न्तहरुलाई बीमा बापतको रकममा संस्थाले एक÷ एक लाख थप गरी तीन लाखका दरले रकम वितरण गरेको हो । संस्थाका अध्यक्ष हरी रायमाझीले कार्यक्रम माथी प्रकाश पार्दै सहकारी अभियानका क्रममा दैवी विपद्का साथै घटनामा परेकालाई सधै सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै जाने बताए । उनले भने, ‘हुमीन घटनामा पाल्पाली सहकारी अभियन्तालाई गुमाउनु परेको पीडा अपुरणीय भएको बताउँदै, यस्तो घटना कहिल्यै नहोस् भन्ने कामना पनि गर्दछु ।’
कार्यक्रममा सहकारीका सञ्चालक सदस्य कृष्णप्रसाद शाक्यले सहकारीले बस दुर्घटनमा ठूलो मानवीय क्षति भोग्नु परेको बताए । नेको इन्स्योरेन्सका तत्कालीन प्रवन्धक सन्तोष पौड्यालले मानव जीवनमा बीमाको महत्वपूर्ण भूमिका रहेकाले मृतकका परिवारलाई बीमा रकमले केही राहत पुग्ने बताए । त्यस्तै इन्स्योरेन्सका शाखा प्रवन्धक सन्दिव केशीले जोखिम बहनका लागि बीमा अनिवार्य रहेकाले बीमा गर्नु पर्नेमा जोड दिए । सहकारीले घाइतेको उपचारका लागि २१ लाख ५० हजार समेत खर्च गरेको जनाएको छ । सहकारीका अध्यक्ष हरी रायमाझीको सभापतित्वमा कार्यक्रम भएको थियो ।