तम्घास अस्पताल- स्वास्थ्यकर्मीहरुले नै चन्दा उठाएर ४ वर्षीय बालकलाई बचाउँदै !
गुल्मी – साउन ८ गतेका दिन ४ वर्षीय छोरा घरको तलाबाट खसेर अगेनामा पकाई राखेको दालमा डुवेर जले । त्यति बेला उनका बाबु आमाको साथमा एक सुका पैसा थिएन । छिमेकीसँग हार गुहार गरेर बाटो खर्च बनाई जिल्ला अस्पताल ताम्घास आए र त्यहाँका स्वास्थ्यकर्मीहरुको शरणमा परे । बालकको अवस्था गम्भीर थियो । त्यस अस्पतालमा आईसियु कक्ष नभएकाले पाल्पा रिफर गरियो । बिवश ती बाबु आमाले भने हामीसँग त्यहाँ पुग्ने बाटो खर्च समेत छैन कसरी जाउँ ? उनीनहरु थिए इस्मा गाउँपालिका वडा नम्वर–३ इस्मारजस्थल ठुलाचौरका भक्तबहादुर कुमाल, उनकी श्रीमति राधिका र जलेर अचेत बनेका उनका ४ वर्षीय छोरा उमेश । उनीहरु श्रीमान श्रीमति दुवै अपाङ्ग छन् । जिल्ला अस्पताल तम्घासका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझी उनीहरुको विपद् यसरी सुनाउँछन् –‘उनिहरुको साथमा एक रुपैयाँ पनि पैसा रहेनछ । उहाँहरु पाल्पा जान नसक्ने भएपछि हामीले आईसियु कक्षको विकल्प यसै अस्पतालमा खोज्यौं । बालकको पछाडि पट्टिको शरीर जलेर बेहाल थियो । बालकलाई आईसियु कक्षको सट्टा एउटा कोठामा राखेर ‘सेकेन्ड डिग्री वान’ भन्ने हुन्छ, त्यसमा त्यस्तै २० दिन सम्म राख्यौं । बालक बचाउन सकिन्छ कि भनेर हाम्रो अस्पतालको पुरै टिम लाग्यो ।’ उनले थपे, ‘धेरै जसो औषधि त अस्पताल मै निशुल्क थियो । केही औषधि भने बाहिरबाट किन्नु पर्ने भएपछि डाक्टर सुवोध ज्ञवालीको नेतृत्वमा हामी सबै स्टाफहरुले दुई दुई सयका दरले चन्दा उठाएर औषधी किनेर खुवाउँदै आएका छौं । हामीले बिरामी एक जनालाई मात्र खान खुवाउने गर्दथ्यौं । तर उहाँहरु बाबु हामासँग पैसा नै नभएपछि उहाँहरुलाई खान पनि हामीले अस्पताल भित्रैबाट खुवाएका छौं । अहिले बालक खतरा मुक्त भई सकेका छन् । अझै बिस पच्चिस दिन राख्नुपर्छ । हामी उनलाई थप चन्दा उठाएर भए पनि पूर्ण निको पारेर पठाउने छौं ।’ केही दिन अघि पनि रेसुङ्गामा एक बवारिसे बृद्धा लडेर हात भाँचेकी थिईन् । उनि सँग पनि पैसा थिएन । डाक्टर रायमाझीले भने, ‘उनलाई पनि हामी स्टाफहरुले नै चन्दा उठाएर उपचार गरी पठाएका छौं ।’ अस्पतालले छोरा बचाई दिएपछि आँशु झार्दै ती बालककी आमा राधिकाले अस्पताल परिवार प्रति कृतज्ञता प्रकट गरिन् । श्रीमान कान सुन्दैनन् । बोली पनि राम्रो फुट्दैन । उनकी श्रीमतिले रुँदै भनिन् –‘घरमा बिहान खाए बेलुकी के खाउँ छ । छोरा आँटीबाट खसेर तल पकाउँदै गरेको दालमा डुबेछ । हामी अकला विकला प¥यौ । एक सुको पैसा साथमा थिएन । छिमेकमा हारगुहार गरेर तम्घास छोरा लिएर आएका हौं । हाम्रो उपाय थिएन । धन्न डाक्टर सावहरुले यसरी बचाईदिनु भएको छ । मेरोे छोरा बाँचोस् भन्न चाहन्छु ।’ बालक कष्टकर रुपमा उपचार गराई रहेकाछन । घाउ पोलेर होला रोई रहन्छन् । उनिहरुको घाउमा मलमपट्टी गर्न हरबखत स्वास्थ्यकर्मीहरुको टोली जुटिरहेका छन् । त्यहाँका डाक्टरसहित स्वास्थ्यकर्मीहरुको टोलीलाई यस्तो कल्याणकारी र उदाहरणीय कार्य गरेकोप्रति अस्पताल बाहिरका मानिसहरुले प्रशंसा गरिरहेका छ
प्रेम सुनार