विदेशी राष्ट्र प्रमुखहरूलाई फरक-फरक होटेलमा राखियोस्, इज्जत जोगाइयोस्ः गगन थापा

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बिमस्टेकमा सहभागी हुन आउने राष्ट्र प्रमुखहरूलाई काठमाडौंका फरक-फरक होटलहरूमा राख्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै थापाले यहीँ १४ र १५ गते हुन लागेको बिमस्टेक बैठकमा सहभागी हुन विभिन्न ६ देशका राष्ट्र प्रमुखहरू काठमाडौं आउने कार्यक्रम रहेको छ। उक्त अवसरमा सरकारले पनि सरसफाइ र खाल्डा पुर्ने काममा लागेकाले सबैतिर खाल्डा पुरिउन् भनेर थापाले उक्त प्रस्ताव गरेका हुन्।

उनले भने, फरक फरक होटलमा पाहुनालाई राखे सरकारले सडकका खाल्डाखुल्डी पुर्नेछ र बेथिति हटाउनेछ भन्नेमा म पूर्ण विश्वस्त रहेको छु।

उनले सरकार रातारात खाल्डा पुर्ने गरेको प्रति व्यंग गरेका हुन्। उनले विदेशीले खाल्डा र फोहोर देखे इज्जत जाने भयले यस्तो भइरहेकाले अतिथिहरूलाई विभिन्न होटलहरूमा राख्न माग गरेका हुन्।