औषधि हालिएको पानी पिएर विद्यार्थीहरु बिरामी
उर्लाबारी – लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले साइपर मेथिन नामक औषधि हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।
ट्याङ्कीको पानीमा साइपर मेथिन नामक औषधि हालिएको पानी पिएका कारण विद्यार्थी विरामी परेको विद्यालयका प्रधानाध्यापक खेमराज दुलालले बताएका छन्।
बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा औषधीको जस्तोगन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए ।
खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो र किन हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।