गणेशमान राष्ट्रिय पुरस्कार अँधेरी वनलाई
पाल्पा / यस वर्षको गणेशमानसिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार जिल्लाको अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ । तानसेन नगरपालिका ९ स्थित उक्त वनले वन क्षेत्रको विकासमा पु¥याएको महत्वपूर्ण योगदानको मूल्याङ्घन गर्दै सरकारले सम्मान गरेको हो । सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सो राशीको पुरस्कार प्रदान गरेका छन् । सरकारले प्रदान गर्दै आएको एक लाख नगदसहितको पुरस्कार अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुरेश कुमार भट्टराईलाई मन्त्री बस्नेतले प्रदान गरेका हुन् ।
सामुदायिक वनले जिल्लामा लोपउन्मूख रुपमा रहेको गिद्ध संरक्षण र वन संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रथम राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि अँधेरी छरछरे सामुदायिक वनका अध्यक्ष भट्टराईलेसरकारले आफुहरुले गरेको कामको मूल्याङ्घन गरेको बताए । उनले आगामी दिनहरुमा जिल्लाको वन संरक्षणमा अझ सशक्तरुपमा लाग्ने बताए । सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले सरकारले मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै जाने नीति लिएको पनि बताए ।