शान्तिदीपमा थोरै नयाँ धेरै पुराना
चितवन÷भरतपुर महानगरपालिका वडा नं.१६ मा सक्रिय शान्तिदीप टोल विकास संस्थाको कार्यसमिति पुनर्गठन भएको छ । दुई वर्षे आवधिक कार्यकाल सकिन ५ महिना बाँकी छँदा पुनर्गठित समितिमा सामान्य हेरफेर गरिएको हो ।
पुनर्गठित कार्यसमितिमा मिनबहादुर लामा, अनिता हमाल, बाबुराम भट्टराई र कोपिला सापकोटा अध्यक्ष, उपाध्यक्ष सचिव र कोषाध्यक्षमा कायम छन् । प्रभा केसीलाई सहसचिव तोकेर सदस्यहरूमा डबलबहादुर रिजाल, रामजी लामा, निर्मला केसी र डोलनाथ न्यौपानेलाई राखिएको छ । शनिवार सम्पन्न भेलाले २०७३ पुषमा गठित समितिको आर्थिक प्रतिवेदनलाई पनि पारित गरेको थियो ।
संस्थाका अध्यक्ष लामाले आपूmलाई कार्यसमिति र साधारण सदस्यबाट सोचेअनुसार काम गर्न सहयोग नभएको गुनासोसहित पद छोड्न चाहेको जिकिर गर्नुभयो । सो जिकिरपछि कार्यसमितिका निष्क्रिय सदस्यको ठाउँमा सक्रिय हुन सक्नेलाई प्रतिस्थापन गरी काम गर्न भेलाले सुझाएको थियो । सोही सुझाव अनुसार कार्यसमिति पुनर्गठन भएको कोषाध्यक्ष कोपिला सापकोटाले बताउनु भयो ।
सो संस्थाको सल्लाहकारसमेत रहनुभएका स्थानीय समाजसेवी इन्द्रबहादुर बस्नेतले भेलालाई विशेष सहजीकरण गर्नुभएको थियो । करिब सय घरधुरी सदस्य रहेको यस संस्थाले टोलमा फोहोर व्यवस्थापन, सडकबत्ती र हरियाली वातावरणका लागि विरुवाको व्यवस्थापन गर्दै आएको छ ।