पर्वतको लस्तीबजार जोखिममा

पर्वत- लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ ।

जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्षले जानकारी दिएका छन् ।

“दुवै वडाका १३१ घर बाढीबाट जोखिममा परेका छन्,” उनले भने । साउन एक गते यहाँ पहिरो र बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने तीन घाइते भएका थिए । विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

कटानका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक जोखिममा छ ।