सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै
काठमाडौँ – आज भाद्र सङ्क्रान्ति, प्रदेश नम्बर सातमा आजको दिन लाइ ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।
सुदूरपश्चिम सबै जिल्लामा हर्षोल्लासका साथ योे पर्व मनाईन्छ । “बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने कथन पनि डोटी लगायतका ठाउमा पाइन्छ । आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नया जीवनको प्राप्ति भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहेको छ ।
डोटेली भाषामा ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आजका दिन बिहानै नुहाईधुवाई गरी विभिन्न परिकार बनाएर आफन्तलाई ओल्कोको रुपमा सागपात, फलफुल, अन्न, दुध, दहि, घिउ, गूड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन छ । विभिन्न मन्दिरमा नया अन्न बालि ओल्केका रुपमा देवतालाइ समेत चढाउने गरिन्छ ।
यो पर्व पश्चिम नेपालका साथै भारतको कुमाउँ गढवालमा समेत मनाईन्छ । ओल्के संक्रान्तिका दिन गाँउ नजिकका डाँडामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । जसलाई स्थानिय भाषामा ‘बुढी हालेको’ भनिन्छ ।
आजका दिन बुण्ढणी पोल्ने ठाउँमा विशेष गरि सल्लाको बोट र नभए अन्य बोट विरुवा काटेर बन्दुनी गाड्ने गरिन्छ । उक्त बूढीलाइ असोज १ मनाइने सुदूरपश्चिको अर्को महान चाड बुण्ढणी संक्रान्तिका साँझ गाँउका सबै जना मिलेर एकैसाथ पोल्ने गरिन्छ ।
आफूभन्दा ठूलावडा, मान्यजनलाई सम्मान स्वरुम गाभा कर्कलाको भित्री पात फलफूल आदि दिनु मीठो मसिनो खानु, हातमा मेहन्दी लगाउनु यस पर्वका विशेषता हुन् । बर्षायाम सकिएर विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई जेठो पर्वका रुपमा पनि लिने गर्दछन ।
आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउँसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् ।