चीनमा हावाहुरी चल्दा गैँडा हस्तान्तरण कार्यक्रम स्थगित
काठमाडौं- सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी एक सिङ्गे गैँडा हस्तान्तरण चीनबाट गैँडा लग्न कार्गो विमान नेपाल आउन नसकेपछि कार्यक्रम स्थगित भएको छ ।
चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान आउने कार्गो विमान बिहीबार नेपाल आउन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बताएको छ ।
गैँडा हस्तान्तरण कार्यक्रम शुक्रबार साँझका लागि तय भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौंं ल्याइएको हो ।
दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ ।