प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली जनकपुर जाने
जनकपुर – प्रदेश २ सभा बैठकलाई सम्बोधन गर्न झन्डै चार वर्षदेखि ‘कोर मधेसी’ क्षेत्रमा राजनीतिक भ्रमण गर्न नसकेका प्रधानमन्त्री केपी ओली शनिबार जनकपुर ओर्लंदै छन् ।
संविधान जारी गर्नु अघिदेखि नै प्रदेश सीमांकनको विषयमा मधेसी दलले राखेका तत्कालीन अडानमा विमति राखेपछि ओलीको मधेसमा विरोध भएको थियो । स्थानीय आक्रोश बढेपछि उनका लागि मधेस यात्रा असहज बनेको थियो ।
गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगेबाहेक उनले प्रदेश २ का जिल्लामा चार वर्षयता पार्टी र राजकीय काम गर्न सकेका छैनन् । २०७३ फागुनमा पार्टीको मेची–महाकाली अभियान लिएर सप्तरी पुग्दा ओलीलाई अवरोध भएको थियो ।
राजविराजमा ओलीलाई उत्रिने नदिने भन्दै मधेसकेन्द्रित पार्टीले विरोध गरेपछि त्यहाँ झडपको स्थिति उत्पन्न भएको थियो । त्यसपछि सप्तरीबाटै फर्केका ओली तीनवटै तहका चुनावमा मुलुकभर चुनावी दौडाहामा निस्कँदा पनि प्रदेश २ मा भने गएनन् ।
चार वर्ष अवधिमा उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन् । चुनावी अभियानमा समेत नगएका ओलीको प्रधानमन्त्रीको हैसियतमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीको जनकपुर आगमनलाई लिएर स्थानीय राजनीतिक माहोल अझै विभाजित छ । यद्यपि ओलीको आगमनै रोक्ने खालको अवस्था भने छैन ।
प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहालसमेत जनकपुर
नेकपाका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री केपी ओलीको जनकपुर भ्रमणलाई भव्य बनाउने तयारीमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत शनिबार जनकपुर आउँदै छन् । प्रदेशसभामा सम्बोधनपछि ओली र दाहाल पूर्वी धनुषाको बरमझियामा आयोजना हुने माओवादी युद्धकालमा मारिएका नेता रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुने आजको कान्तिपुर दैनिकमा समाचार छ ।