अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त
जेनेभा- पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ ।
संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गरेका छन्।
गुटेर्रेसले भने, “धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ हुनुहुन्थ्यो ।” उहाँले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पुर्याउनुभएको थियो ।
“अन्य साथीहरूलाई जस्तै मैले कोफी अन्नानलाई एक असल साथी भन्न पाउँदा मलाई गर्वको महशुस हुन्छ ।”
यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनले सम्मानमा घाना तथा यसका कुटनीतिक नियोगहरूमा हक हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताएका छन् ।
अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसङ्घको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गर्नुभएको राष्ट्रपति नानाले स्मरण गरेका छन् ।
अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गरेका थिए ।
फाउण्डेसनका उप प्रमुख, नर्वेका पूर्व प्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्व प्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले अन्नानको मृत्युपछि एक विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गरेका छन् । “आज उहाँको निधनप्रति शोक व्यक्त गर्दै गर्दा हामीले यो सङ्कल्प गर्छौँ कि आगामी दिनमा उहाँले देखाएको बाटो र मूल्यमान्यताप्रति इमान्दार रूपले काम गर्नेर्छौँ । हाम्रो लागि यही नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।”
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख तथा अर्का नर्वेली पूर्व प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर हामीबाट विदा हुनुभएको बताए । एजेन्सी