आज एघारौं राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौंँ – एघारौं राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।
सूचनाको हकसम्बन्धी व्यवस्था, यस अवधिमा हासिल भएका उपलब्धि र यसका चुनौतीका विषयमा विभिन्न दृष्टिकोणबाट बहस र छलफल पनि भइरहेका छन् ।
नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ ।
विगत ११ वर्षको अवधिमा सूचना प्राप्तिमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् ।
वि।सं। २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । आइतबार ११ औँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आम जनतालाई आफ्नो सरोकार र सार्वजनिक चासोको सूचना माग्ने र पाउने अभियानमा लाग्न आह्वान गर्नुहुँदै यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।
उहाँले विद्यालय र विश्वविद्यालय तहका गरी ८५ लाख विद्यार्थीको उत्तरपुस्तिका हेर्न पाउने हक सुनिश्चित भएको, लोकसेवा आयोग, शिक्षक सेवा आयोगजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो प्राप्त अङ्क जान्न पाउने हक स्थापित भएको जानकारी दिनुभयो ।
यसैगरी, मुलुकले गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि सम्झौता जान्न पाउने हक स्थापित भएका आजको गोरखापत्रमा समाचार छ ।