‘दाल भात तरकारी’ मा नयाँ पुस्तालाई मौका
काठमाडौं । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’ का कलाकारहरुको नाम पनि सार्वजनिक भएको छ ।
नाम सार्वजनिक भएसँगै चर्चामा रहेको सो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, निरुता सिँह, प्रियङ्का कार्की, वर्षा राउत, पुष्प खड्का लगायतका दर्जन ख्यातिप्राप्त कलाकारहरुले अभिनय गर्ने भएका छन् ।
यो चलचित्रको निर्देशन किरण केसीका जेठा छोरा सुदन केसीले गर्ने बताइएको छ । लामो समयदेखि महसञ्चार र नेपाली चलचित्रमा काम गरिसकेका सुदनले पहिलो पटक ख्याती प्राप्त कलाकारहरुलाई ‘एक्सन कट’ गराउँदैछन् ।
आफ्नो छोरो भएकाले मात्र सुदनले निर्देशनको अवसर नपाएको बताउँदै उनले लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएकाले निर्देशनको मौका दिइएको किरण केसीले बताएका छन् ।
त्यस्तै हरिवंश आचार्यले महसञ्चारमा काम गरेको अनुभव, गत वर्षको चर्चित चलचित्र ‘शत्रु गते’ को मुख्य सहायक निर्देशक भएर काम गरेको अनुभवले सुदनमाथि विश्वास रहेको बताए ।
सिनेमाको निर्देशन किरणका छोरा सुदनले सम्हालेका छन् भने हरिवंशका छोरा मोहितवंश आचार्य पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुने भएका छन् ।
अघिल्लो सिनेमा ‘शत्रु गते’ मा ‘डन’ को भूमिकामा प्रस्तुत भएका मोहित आफ्ना पिताको विभिन्न प्रोजेक्टमा निर्माता तथा कलाकारका रुपमा जोडिँदै आएका छन् ।
कुपण्डोलमा क्याफे सञ्चालन गरेर बसेका मोहितले ‘महसञ्चार’ का विभिन्न टेलिसिरियल, टिभिसी तथा स्टेज कार्यक्रमहरुमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् ।
त्यस्तै मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ पनि ‘दाल भात तरकारी’ चलचित्रमा कलाकारका रुपमा प्रस्तुत हुने भएका छन् । यमन संगीतकार, गायक र हाँस्यकलाकार पनि हुन् ।
‘खासखुस’ हाँस्य सिरियलका लेखक तथा कलाकारसमेत रहेका यमनले पछिल्लो समय ‘छक्कापञ्जा–३’ मा स्क्रिप्ट समेत लेखेका छन् ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी उमेरका कारण पाखा लाग्दैगर्दा छोराहरु चलचित्र निर्माण तथा निर्देशन तथा कलाकारका रुपमा देखा परेपछि ‘महसञ्चार’ ले आफ्नो उत्तराधिकारी छोराहरुमा हस्तान्तरण गर्ने तयारीमा लागेको अनुमान गर्न थालिएको छ ।