वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल, एनआरएनको स्वागत
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने कदम महत्वपूर्ण र स्वागतयोग्य भएको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले विज्ञप्ति जारी गरी मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिकाप्रति संघले आभार प्रकट गरेको छ ।
गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको जनाउँदै गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै संघले समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको जनाएको छ ।
गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयार गरिएको जनाउँदै संघले गैरआवासीय नेपाली संघले पटक–पटक गरेको पहल अनुरुप कार्यदल गठन गर्ने मन्त्रालयको निर्णयबाट संघलाई निकै उत्साह मिलेको जनाएको छ ।
कोष सञ्चालनले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुको बचतको बानी बसाल्न महत्वपूर्ण योगदान मिल्ने जनाउँदै संघले निकट भविष्यमा कार्यन्वयनमा आउने अपेक्षा गरेको छ ।
संघले भनेको छ “कोषमा गरिएको बचत मार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन र साथै देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्दछ ।”
संघले भनेको छ “विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेशस्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा संघ सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ ।”
छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयले विदेशमा रहेका नेपाली कामदारहरुलाई निकै उत्साह मिलेको जनाउँदै गैरआवसीय नेपाली संघले यस्ता प्रकारका महत्वपूर्ण कदमहरुको सधैं स्वागत गर्ने र आवश्यक क्षेत्रहरुमा सहयोग र सहकार्यका लागि प्रतिवद्ध रहको जनाएको छ ।