शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका हुन् ।

उनले भने, “अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा जोड दिदै भने, शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्छ ।

विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन आग्रह गर्दै भने यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नु पर्दछ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँ, क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवाल लगायतले आफ्नो धारणा राखेका छन् ।