सामाजिक सञ्जालका विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन

काठमाडौं- फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापन करको दायरामा आउने भएका छन् ।

आज बसेको संसदको विकास समितिको बैठकले समाजिक सञ्जालमा विज्ञापन बापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

सरकारले इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने तयारी सुरु गरेको अवस्थामा समितिको पनि यस्तो निर्देशन आएको हो ।

नेपालबाट विशेषगरी फेसबुकमा विज्ञापन धेरै हुने गरेको र त्यसको कर राज्यले संकलन गर्नुपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको बुझिएको छ ।

नेतादेखि मन्त्रीसम्मले फेसबुकमा विज्ञापन गरिरहेका तर त्यसको भुक्तानीको प्रक्रिया, खर्च, लागतजस्ता विषयमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई अर्थ मन्त्रालयले निर्देशन दिएको अवस्थामा समितिले जोड दिएको हो।