प्रधानमन्त्री अोलीको सम्बोधनले सत्तारुढ दलभित्र असन्तुष्टि
जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश २ को प्रदेशसभामा गरेको सम्बोधन गरेपछि त्यहाँको सत्तारुढ दलभित्र असन्तुष्टि बढेको छ ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेशसभामा सम्बोधन गर्दा सत्तारुढ दल राजपा नेपालले नै विरोध गरेपछि फोरम नेपाल असन्तुष्ट देखिएको हो ।
राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० को सहयोगमा संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रमलाई फोरम नेपालले सफल बनाउन सरकार तथा पार्टी पंक्तिलाई निर्देशन नै दिएको थियो ।
सोही अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीको सम्बोधनलाई सफल बनाउन र सो कार्यक्रममा मन्त्री तथा प्रदेश सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए ।
तर, कार्यक्रममा फोरम नेपालका मन्त्री तथा प्रदेशसभा सांसदहरुको उपस्थिति रहेपनि राजपा नेपालका अधिकांश नेता तथा मन्त्रीहरु अनुपस्थिति रहेर विरोध गरे । यही विषयले फोरम नेपालका नेताहरु राजपासँग असन्तुष्ट देखिन्छन् ।
फोरम नेपालको नेतृत्वमा सरकार भएको कारणले प्रधानमन्त्री ओलीको सम्बोधनमा कुनै प्रकारको व्यवधान तथा विरोध हुनु नहुने फोरम नेपालको चाहना थियो ।
तर, राजपा नेपालका केही मन्त्री र सांसद अनुपस्थित भए भने तीनजना सांसद उपेन्द्र महतो, विक्की यादव र गौरीनारायण साह प्रदेशसभामा प्रधानमन्त्री ओली सम्बोधन गर्न लाग्दा बहिष्कार गरेर बाहिरिएका थिए ।