राउटेलाई पहिलो पटक समयमै भत्ता

दैलेख – गुराँस गाउँपालिकाले राउटेले पहिलो पटक समयमै भत्ता उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए ।

गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो ।

राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिए ।

फिरन्ते शैलीमा जीवनयापन गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले गत असार ३० गते परिचयपत्र वितरण गरेको थियो । परिचयपत्र वितरण गरेसँगै साउन महिनाको भत्ता उपलब्ध गराएको अध्यक्ष ओलीले बताए ।