कञ्चनपुरमा गोली चल्यो सात घाइते , टायर बालेर सडक अबरुद्ध

कञ्चनपुर  – निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा आज पनि कञ्चनपुरमा प्रदर्शन जारी छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् भने टायर बालेर सडक अबरुद्ध पारिएको छ ।
पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् ।
बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो ।

चार दिनदेखि प्रदर्शन भइरेको कञ्चनपुरमा बिहीबार दिउँसो गोली चल्दा सात जना घाइते भएका छन् । एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ ।

घाइतेलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ । अन्य घाइतेबारे विस्तृत विवरण आइसकेको छैन ।

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको छ ।
भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका(१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

यसैबीच आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएको छ । हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी खटाइएको प्रहरीका एक अधिकृतको भनाइ रहेको छ