नेकपाका जिल्ला समितिहरूको एकीकरण अन्तिम चरणमा

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश तथा जिल्ला समितिहरूको एकीकरण अन्तिम चरणमा पुगेको छ ।

तत्कालीन नेकपा (एमाले) र तत्कालीन (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो ।

प्रदेश तथा जिल्ला समितिहरू बीच एकीकरण गर्न बनेको कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीका महासचिव विष्णु पौडेललाई बुझाउन थालिएको छ ।

भदौ ४ गते सम्पन्न पार्टीको सचिवालय बैठकले भदौ ७ गतेसम्म आआफ्नो प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार कार्यदलहरूले धमाधम प्रतिवेदन बुझाइरहेका छन् । महासचिव पौडलका अनुसार अधिकांश कार्यदलले आआफ्ना प्रतिवेदन बुझाइसकेका छन् ।

विहिवारसम्म सबैको प्रतिवेदन आइपुग्ने सम्भावना रहेको बताउँदै महासचिव पौडेलले धेरैले सहमतिमा कार्यसमिति टुङ्ग्याएर दिएका छन् भने कतिपयले टुङ्ग्याउन नसके पनि सहमतिमा प्रतिवेदन बुझाएको र त्यस बारेमा पार्टीको सचिवालयले टुङ्गो लगाउने बताए।

पार्टी कार्यालय स्रोतका अनुसार पाँचवटा प्रदेशका कार्यदलले आआफ्नो प्रतिवेदन बुझाइसकेका छन् । अधिकांश जिल्लामा नेतृत्वको विवाद देखिएको छ । कार्यादेशअनुसार एउटा पार्टीले अध्यक्ष पाउने हो भने अर्कोले सचिव पाउने छ ।

तैपनि नेतृत्वका लागि विवाद देखिएको छ । दलहरूका बीचमा जिल्ला बाँडफाँट भए पनि कतिपय जिल्लामा नेतृत्वका विषयमा विवाद रहेको छ । विवादित जिल्लाको पनि प्रतिवेदन महासचिव पौडेललाई बुझाइएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।