देशैभरका अदालतमा सम्वन्ध विच्छे गर्न पुरुषको भिड
एकै दिन एउटै अदालतमा पाँच मुद्दा
श्रीमति न घर आउने, न त सम्वन्ध विच्छेदको मुद्दा दिन अदालत जाने । प्रहरीमा उजुरी दियो कि मेलमिलाप गरेर घर जाने तर एक डेढ महिना नपुग्दै बिना घर सल्लाह शहर तिर गएर हराउने ।
यस्तो समस्याबाट गत चार वर्ष देखि पिडित बनेका गुल्मी बडागाउँका २८ वर्षिय अर्जुन सर्तुङ्ग विहिवार जिल्ला अदालत गुल्मीमा सम्वन्ध विच्छेदको मुद्धा दायर गर्न आए । उनि सहित जिल्ला अदालत गुल्मीमा एकै दिन पाँच जना पत्नी पिडित पुरुष सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराउन आएका हुन् । श्रेस्तादार दुर्गाप्रसाद पौड्यालका अनुसार गुल्मीमा संम्वन्ध विच्छेदको मुद्धा दर्ता गराउने पहिलो पुरुष बनेका छन् ईस्मा गाउँपालिका वडा नम्वर–५ ईस्मारजस्थलका लक्ष्मण ज्ञवाली ।
उनको पिडा यस्तो छ
२०६१ सालमा हाम्रो विवाह भएको हो । अहिले १४ वर्षकी छोरी र ९ वर्षको छोरो छ । २०६६ सालमा हामी बुटवल झरियो । कस्तुरी फिजी घरमा मैले काम गर्न थालें । पछि गाउँको मोटरबाटोमा रहेको घडेरी बेचेर श्रीमतिका नाममा बुटवलमा १३ लाखमा घडेरी किनें ।
विस्तारै श्रीमतिको ब्यवहारमा परिवर्तन आउँदै थियो । १० लाख लागतको एउटा फेन्सी पसल पनि श्रीमतिकै नाममा खोल्यौं । उक्त घडेरी मलाई थाहै नदिई बेची सकेकी रहिछन् । एक बर्ष अघि यसै अदालतमा आएर उल्टै अंश दावी गर्दै मुद्धा हाली छन् ।
केहि दिन अघि त्यो फेन्सी पसल पनि बेचेर बसेकी छन् । मुद्धा हालेर गए देखि मलाई त्यस फेन्सी फसलमा छिर्न पनि दिईनन् । गत चार वर्ष देखि हामी बुटवलमा अलग अलग बस्दै आएका छौं । सम्पत्ति कति उडाईन् भन्ने त लेखाजोखा नै छैन ।
श्रीमतिको कुरा गरेरै साध्य छैन
म प्रहरीमा जागिर खाएको मान्छे हुँ । मेरो नाम विवरण गोप्य राखी दिनु होला । यी प्रहरीका पनि दुई वटा सन्तान छन् । उनले श्रीमतिको चरित्र माथी दोषारोपण गरिरहेको मुद्धामा उल्लेख गरिएको छ । के के गरिन् श्रीमतिले भनेर सबै नभनुँ, तपाईलाई यति मात्र भन्छु उनको कुरा गरेरै साध्य छैन, नत्र किन धाउनु पथ्र्यो र अदालतमा ।
श्रीमान विदेशियो कि शहरतिर टाप
हालको मुसिकोट नगरपालिका–४ बडागाउँबाट सम्वन्ध विच्छेदको मुद्धा दिन आएका सर्तुङ्गे भन्छन् म विदेश हिड् की कहिले श्रीमति वुटवल त कहिले काठमाण्डौ गर्न थाल्नु नै सम्वन्ध विच्छेद गर्नुको मेरो बाध्यता हो ।
उनले भने २०६९ सालमा छिमेकी गाउँ ताल्तुङ्गबाट मैले उनलाई प्रेम विवाह गरेको हुँ । विवाहको करिव डेढ वर्ष सम्म घरै बसें । त्यस पछि म मलेशिया गएँ । म हिडे पछि ऊ कहिले बुटवल त कहिले काठमाण्डौ हिड्छे भन्ने घरबाट खवर आउने गर्दथ्यो । तर पनि मेरी श्रीमति प्रति म बिश्वस्त थिएँ ।
त्यस पछि घर आएँ । श्रीमति बुटवलतिर गएर बसेकी रहिछन् । नआए पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी हालें । मेलमिलाप गरेर घर लगे । म फेरी विदेश हिडे । डेढ महिना पछि फेरी उनि वुटवल तिरै हिडिछन् । फेरी पनि प्रहरीमा उजुरी दिएँ । अहिले तेश्रो पटक यस्तो कानुन आए पछि अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिन आएको हुँ ।
१३ लाखमा जम्मा एक लाख फिर्ता पाए“
त्यस अदालतमा मेलमिलापमा श्रीमतिबाट सम्वन्ध विच्छेद गरेका रेसुङ्गा नगरपालिका–६ का फर्शबहादुर पुन मगर पनि बैदेशिक रोजगार मै थिए । बाबुको किरीयाक्रम गर्न बैशाखमा घर आएका बेला त्यसको एक महिना पछि घरबाट श्रीमति बेपत्ता भईन् ।
हुर्के बढेका चार छोरा छोरी र नातीकी हजुर आमा समेत रहेकी उनि कतै जालिन् भनेर त कल्पना नै गर्न सकेको थिइन उनले भने अहिले पो थाह भयो उनि ईस्मा गाउँपालिका ३, दर्लामचौरमा सौता माथी अर्को विवाह गरेर गएकी रहिछन् ।
१२ वर्ष सम्म बैदेशिक रोजगारबाट कमाएको करिव १३ लाख हिनामिना गरे पनि जम्मा एक लाख उनिबाट पाउने र दुई तोला सुन फिर्ता गरेर सम्वन्ध विच्छेद गरिदैछ ।
श्रीमति यहि अदालत नजिकै हुनुहुन्छ
त्यस अदालत परिसरमा सम्वन्ध विच्छेदको मुद्धा लेखाउँदै गरेका रेसुङ्गा नगरपालिका–४ का ३५ वषर््िाय राजेन्द्र क्षेत्री पनि श्रीमति संग सम्वन्ध विच्छेद गर्नु बाध्यता भएको सुनाउँछन् । उनि भन्छन्–श्रीमतिले ‘५ बर्षको छोरो छाडेर हिडेको धेरै भयो ।
बेला बेलामा केटाहरुको फोन आउँछ । सुन्छु यसै अदालत नजिकै पर्ने बसपार्कमा छन् । कसै संग दोश्रो विवाह गरेर गईन् भन्न त सक्दिँन विना प्रमाण, वसपार्कको पाउरोटीवालाकहाँ छन् भन्ने सुनेको छु, देखेको छैन । ’
यसरी एउटै जिल्ला गुल्मीमा एकै दिनमा पाँच जनाले सम्वन्ध विच्छेदको मुद्धा दिने पुरुषहरुको जे पिडा सुनियो देशैभरका अन्य पुरुषहरुको पिडा पनि त्यस्तै पाईएको छ ।
देशैभरका पुरुष यसरी पिडा पोख्छन्
हामीले बाग्लुङ्गबाट पहिलो पटक पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दायरको समाचार सम्प्रेषण गरी सके पछि अदालतका श्रेस्तेदार, कानुन ब्यवसायी र पत्रकारहरुलाई देशैभरबाट फोन उठाई साध्य छैन ।
अधिकांस पुरुषले कुन अवस्थामा मुद्दा दिन पाईन्छ, के के प्रमाण हुन पर्छ भन्दै चासो लिई रहेका छन् । आफ्नो पिडाहरु सुनाउँदै मुलुकी देवानी लागु भएको भदौ–१ लाई पुरुष मुक्त दिवसका रुपमा लिई रहेका छन् ।
मकवानपुरबाट गंगाप्रसाद सापकोटा भन्छन्–‘ मेरा दुई छोरीहरु छन् । एउटीको उमेर ४ र अर्की ६ वर्षकी छ । श्रीमति सम्पर्क विहिन भएको डेढ बर्ष भयो । म दुवईको बैदेशिक रोजगारीमा थिएँ । मैले श्रीमतिलाई पनि दुवई बोलाएँ ।
दुई महिना पछि झगडा गरेर तँ संग म बस्दै बस्दीँन भनि । मै घर फर्के । करिव तिन महिना पछि उनले दुवईबाट फोन गरेर मैले गल्ती गरें भनेर भनिन् । त्यो उनको भिसा बढाउने प्रयत्न थियो ।
मैले बुझे पछि उनि नेपाल आईन् र मकवानपुर जिल्ला अदालतमा मुद्धा हालिन् । मुद्धा हालेको त्यस्तै डेढ वर्ष भए होला उनि अदालतकै सम्पर्कमा समेत नभए पछि अल्ल न मल्ल परेर बसेको छु । छोरीहरुलाई समेत जंगलमा लगेर कुटेर हिडेको सुन्छु । अव मैले के गनु पर्ला ?
सामाजिक सञ्चालमा समाचार तल राहुल क्षेत्री लेख्छन्–‘ अब केहि राहत मिल्छ कि ? रामजी पौड्याल लेख्छन् पिडित पुरुषका लागि मौका । अनमोल लिम्वुः म पनि मुद्दा दायर गर्ने तयारीमा छु । मेरी श्रीमति म र मेरो परिवारको मञ्जुरी विना वा विना जानकारी एक्लै बसेको तिन वर्ष भयो । उसको माईतीमा ।
पासाङ्ग तेञ्जिङ्ग शेर्पाः अर्को संग लाग्यो कि नाई ? अमर गिरीः राम्रो कुरा हो । हक अधिकार बराबर हुनु प¥यो नि । टुक्रियको मुटुः म पनि पत्नी पिडित हुँ । म हाल सउदी अरवमा छु । नेपाल फर्किए पछि सम्वन्ध विच्छेद गर्छु । मेरो श्रीमति पनि माईतमा बसेको ३ वर्ष भयो । मेरो एउटा छोरी छ । मलाई पनि छोरीको माया लाग्छ । अनि घर जा भन्दा मान्दिन । उल्टै मलाई गाली गर्ने, मेरो बाबु आमाको नाम जोडेर अश्लिल शब्दहरु प्रयोग गर्ने धम्की दिने गर्छिन् ।
शिवराम सापकोटाः ढुक्क हुँ है भन्दै समाचारदाताको सम्पर्क नम्वर माग्छन् । हरिबहादुर ओलीः त्यस्ता महिलालाई गाली गर्छन् । लक्ष्मण मल्ल र हरि बरालले संहितालाई धेरै राम्रो भन्छन् । किशोर कार्कीः लुकाएर धेरै दिन सत्य लुक्दैन । म पनि पत्नी पिडित नै हो । भएको सम्पत्ति बुढी कै नाममा जोडियो । तर लास्टमा घर न घाटको भईएको छ । दुई छोरीहरु मध्ये एउटा छोरी तेरो होईन भनिसकेकी छ । कोही नभई त्यो पक्कै बोलेकी छैन डिभोर्स त मैले नि लिनु छ । बाँकी जिन्दगी आफ्नो लागि ज्युनु छ ।
खिम भण्डारीः मुखले भन्दा यस विषयमा सरकारले ताली नै पायो । खिम गुरुङ्गः नारी पुरुष बराबरी, समानताको हक बल्ल जस्तो लाग्यो । राज दर्लामी उनको समर्थन जनाउँदै लेख्छन् सहि कुरो । अन्य सामाजिक सञ्जालमा पनि मुलुकी देवानी संहिता अन्तरगत पुरुषले पनि सम्वन्ध विच्छेद गर्न पाउने महललाई सर्वत्र स्वागत गर्दै कार्यान्वयनमा ल्याएकोमा अहिलेको सरकारलाई प्रशंसा गरिएको छ । माथी उल्लेखित पुरुषहरुले महिलालाई जे जस्ता आरोप लगाए पनि त्यो आरोप अदालतले पुष्टी गर्ने कुरा हो । ति आरोपी सम्वन्धितका श्रीमतिहरु त्यसको ठिक विपरित कारणबाट पिडित हुन पनि सक्छन् ।