प्रधानमन्त्रीले मागे गृहमन्त्रीसँग स्पष्टिकरणः के थियो त खास कारण ?
काठमाडौं– पूर्वलडाकु लेनिन विष्टलाई थाइल्याण्ड जाने क्रममा विमानस्थलबाट फर्काइएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासँग स्पष्टिकरण मागेका छन् ।
बैंककमा हुने एक कार्यक्रका लागि विष्ट गत शुक्रबार त्यसतर्फ जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनममा कार्यरत कर्मचारीले रोकेका थिए । घटनापछि प्रधानमन्त्री ओलीले चासो देखाउदै गृहमन्त्रीसँग स्पष्टिकरण मागेका हुन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सो घटनाबारे २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको बताएका छन् ।
विष्टलाई बैंकक जानबाट रोक्ने निर्देशन कसले दियो र किन गरियो भन्नेबारे सबै जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिइसकेको ओलीले सम्पादकहरुलाई बताए ।
उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले काम गरिरहेको भन्दै छानबिन निष्कर्षमा पुगेपछि दोषीमाथि कडा भन्दा कडा कारबाही गरिने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाए ।
घटनाको छानबिनका लागि प्रारम्भमा प्रहरी संयन्त्रमा भर पर्नु सरकारको बाध्यता भएको उल्लेख गर्दै ओलीले उनीहरुको भूमिका पनि संकास्पद देखिएकाले जिल्लाको प्रहरी नेतृत्वसहितलाई फिर्ता बोलाएको बताए।