बिमस्टेक सम्मेलनको चटारोमा सरकार
म्यानमारकी विन छिटो, मोदी ढिलो आउने
काठमाडौं÷ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन १४ र १५ भदौमा होटल सोल्टीमा हुँदैछ ।
‘शान्ति, समृद्ध र दिगो बङ्गालको खाडीतर्फ’ भन्ने नारा दिइएको सम्मेलनमा बिमस्टेकका १६ वटा कार्यक्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनको अन्तिम दिन बिमस्टेक विद्युत प्रशारण लाइनसम्बन्धी सम्झौता (बिमस्टेक ग्रिड इन्टर कनेक्टिभिटी सम्झौता)मा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका छन् । त्यसले बिजुली किनबेचमा सहजीकरण गर्ने मन्त्री ज्ञवालीको भनाइ छ । मन्त्री ज्ञवालीका अनुसार नेपाल विद्युत प्राधिकरण नाफामा जान लागिरहेका बेला हाम्रा लागि भविष्यमा लाभदायक हुनेछ । सम्मेलनले बिमस्टेक बडापत्रका लागि विज्ञसमिति गठन गर्ने निर्णयसमेत गर्नेछ ।
पर्यटन प्रबद्र्धनका सन्दर्भमा बौद्ध सर्किटसम्बन्धी अवधारणा कार्यान्वयनका विषयमा पनि छलफल गरिनेछ । ज्ञवालीले भने, ‘बुद्ध जन्मेको स्थानबाट बौद्ध सर्किट सुरु हुनेमा द्विविधा छैन, यसको कार्यान्वयनमा समेत जोड दिइनेछ । कनेक्टिभिटीमा जोड दिइएको छ । यो क्षेत्रमा २० प्रतिशत गरिबी रहेकाले गरिबी निवारणका विषयमा छलफल हुनेछ । अन्तरक्षेत्रीय लगानी, पर्यटन र व्यापार प्रबद्र्धनमा विशेष जोड दिइनेछ । यसका लागि भन्सार दर न्यूनीकरणदेखि भन्सार बिन्दुमा सहजीकरणसमेतका विषयमा छलफल हुनेछ ।
सम्मेलनमा सहभागी सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ १४ गते दिवाभोज दिने भएकी छन् । दिवाभोजपछि बिमस्टेक सम्मेलन उद्घाटन हुनेछ ।
प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केर्पी ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय छ । प्रधानमन्त्री ओलीले उ्द्घाटन गरेपछि अन्य मुलुकका कार्यकारी प्रमुखले उद्घाटन मन्तव्य दिनेछन् । त्यही साँझ प्रधानमन्त्री ओलीले पाहुनाको सम्मानमा होटल हायातमा रात्रीभोज दिनेछन् । त्यसपछि १५ भदौमा दिवाभोजसहितको रिट्रिट हुनेछ । यसका लागि गोकर्णमा तयारी गरिएको छ । गोकर्णबाट हायात फर्केपछि दस्तावेजमा हस्ताक्षरसहित सम्मेलन सम्पन्न गर्ने कार्यक्रम तय भएको मन्त्री ज्ञवालीले जानकारी गराएका छन् ।
बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।
सम्मेलनमा सहभागी हुन सबै भन्दा पहिला म्यानमारकी राष्ट्रपति विन आउने भएकी छन् । विन भदौ १२ गते नै काठमाडौ आउनेछिन् । भूटानका प्रधानन्यायाधीश एवं सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना भदौ १३ गते आउनेछन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा पनि सोही दिन अबेर आउने छन् । स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा ढिलो आउनेछन् । मोदी १४ भदौ बिहान आउने छन् ।
बिमस्टेक सचिवालयका महासचिव शहिदुल इस्लाम पनि सम्मेलनमा सहभागी हुनेछन् । विन र श्रीलंकाका राष्ट्रपति सिरिसेनाले भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गर्ने छन् । सरकारले सबै विशिष्ट पाहुनालाई होटल सोल्टीमा आवासको व्यवस्था गरेको छ ।
नेपालले कनेक्टिभिटी, बिमस्टेक ऊर्जा प्रशारण लाइन, हरित अर्थतन्त्र, आतंकवाद बारे एजेन्डा राख्नेछ । परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग एजेन्डा मागेर त्यसलाई अन्तिम रुप दिइरहेको छ । परराष्ट्रमन्त्रीस्तरीय बैठकमा एजेन्डा पास भएपछि प्रधानमन्त्रीस्तरीय सम्मेलनमा राखिने छ । कार्यकारी प्रमुखको सुरक्षामा पहिलो घेरामा सेना खटिएको छ । सुरक्षा स्रोतका अनुसार बिमस्टेक सम्मेलनका लागि उपत्यकामा करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच १५ भदौमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा काठमाडौं वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो । मोदीको नेपाल भ्रमणका बेला यसबारे छलफल भए पनि समझदारी पत्रमा हस्ताक्षर भएको थिएन ।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार भारतबाट रक्सौलसम्म बल्क कार्गोसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ । मोदीले भारतका तर्फबाट निर्मित पशुपतिनाथ धर्मशाला हस्तान्तरण गर्नेछन् । श्रीलंकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले १६ भदौमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ । श्रीलंकाको एक थिंकट्यांक र नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।