भगवती रथयात्राको तयारी तीव्र
पाल्पा÷ पाल्पामा परम्परादेखि मनाईदै आएको रणउजीरेश्वरी भगवतीको विजयोत्सव तयारी तीव्र पारिएको छ । यही भदौ १८ गते २००औं रथयात्राका रुपमा निकालिने विजयोत्सवको तयारी तीव्र पारिएको भगवती गुठी व्यवस्थापन समितिले जनाएको हो । यस वर्षको रथयात्रा विशेष किसिमले मनाउने तयारी भएको रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए । उनले यस वर्षको रथयात्रामा पञ्चेबाजा, नौमती बजा, नेपालको राष्ट्रिय झण्डा सहित विद्यार्थीहरुको ¥याली, महिलाहरुद्वारा बाँसुरी बजाउने जस्ता कार्यक्रमहरु नयाँ रहने अध्यक्ष उदयले बताए । उनले यस वर्षको विजयोत्सवलाई विशेष किसिमले हेरीएकोले सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गरेका छन् । रथ दिउंसो १२ बजेर ४५ मिनेटमा मन्दिरबाट उठाइने समेत उनले बताए । रथलाई बजार परिक्रमा पछि पुनः मन्दिरमै भित्र्याइनेछ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश पाँचका मूख्य मन्त्री शंकर पोखरेल र प्रधान सेनापति लगायतको प्रमुख उपस्थिती रहने समितिका अध्यक्ष उदयले जानकारी दिए । वीरताको प्रतिकका रुपमा रहेको यस रथयात्रालाई विजय उत्सवको रुपमा मनाउने प्रचलन रहेको छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको हो । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय वर्ष अघिदेखि विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित मानिन्छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै अहिलेसम्म अविर जात्राको रुपमा सञ्चालन गरिदै आएको जिल्लाका जानकारहरु बताउँछन् ।