सवारी साधन एक, नम्वर प्लेट दुई

बाग्लुङ । बाग्लुङ्गमा प्रहरीले सवारी साधन एक, नम्वर प्लेट दुई भएको फेला पारेको छ । गल्कोट नगरपालिका हटियामा एउटै मोटरसाईकलमा दुई ओटा नम्बर प्लेट भेटिएको छ ।
ट्राफिक शाखा कार्यालय गल्कोटका प्रमुख पुर्ण बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार गल्कोटमा मोटरसाईकलको पछाडि लु ६ प ७२३६ र अगाडि ध १ प ५२९७ नम्बरको प्लेट राखिएको पल्सर मोटरसाईकल (बाईक) भेटिएको छ । हटियामा चेकिङ गर्दै गर्दा उक्त बाईक समातिएको हो ।
मोटरसाईकल धनीको नाम भने खुलेको छैन । मोटरसाईकल छोडेर गएपछि लिन नआएकाले नाम थाहा नभएको श्रेष्ठको भनाइ छ ।
अगाडीबाट हेर्दा ध १ प ५२९७ र पछाडीबाट हेर्दा लु ६ प ७२३६ देखिने गरी मोटर साइकलमा नम्बर प्लेट राख्नु पर्ने कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । यस प्रकार एउटा मोटर साईकलमा दुई प्रकारको नम्बर प्लेट राख्नु कुनै अपराधिक प्रयोजनका लागि हुन सक्ने स्थानीयवासीको अनुमान छ ।