३० करोडको ‘पासवर्ड’ मा सनीको आइटम डान्स

९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत मात्र नेपालमा

नेपाली फिल्मको इतिहासमा पहिलो पटक सर्वाधिक लगानीमा ‘पासवर्ड’ निर्माण हुने भएको छ । ३० करोडको लागतमा बन्ने यो फिल्मको छायांकन आजबाट लन्डनमा सुरु बताइएको छ ।
सम्राट बस्नेतले निर्देशन गर्ने यो फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत मात्र नेपालमा हुने बताइएको छ । निर्माणपक्षका अनुसार छायाँकार तथा प्राविधिकसहितको एक टोली केही दिनअघि नै बेलायत पुगिसकेको छ ।
ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा रहेको यो फिल्ममा विक्की जोशी, दुई नव–नायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार रहेका छन् ।
यो फिल्ममा अनुपको नेगेटिभ भूमिका छ भने संगीत अर्जुन पोखरेलको हुने बताइएको छ । फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको निर्देशक बस्नेतले बताएका छन् ।


बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनले समेत अभिनय गर्न लागेको बताइएको छ । सनीको आइटम डान्स र स्पेसल अपिरिएन्स हुने निर्माण टिमले जनाएको छ । आइटम डान्सका लागि सनीलाई २ करोड रुपैयाँ दिइएको बताइएको छ । लियोनले फिल्मका मुख्य अभिनेता विक्की जोशीसँग स्क्रिन साझेदार गर्ने बताइएको छ । सन्नीको आइटम डान्स लन्डनमा छायांकन गरिने र गीतलाई भारतकै कोरियोग्राफरसहितको टीमले नृत्य निर्देशन गर्ने बताइएको छ ।
अमित बस्नेत र हिरल जोशी ‘पासवर्ड’ का निर्माता हुन् भने सौरभ लामाको छायांकन हुने यस फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । आगामी जनवरी २०१९ मा फिल्मलाई नेपालमा रिलिज गर्ने लक्ष्य राखिएको बताइएको छ ।